Kakhara सबैको खबर सम्पूर्ण खबर
किताबको आवरणमा तक गाउँ 
कक्षा १० अनिवार्य अङ्ग्रेजी किताबको आवरणमा राखिएको तक गाउँ । तस्बिरः कखरा ।

लेकाली भू-भागमा अवस्थित तक गाउँ । सयौँ वर्ष अघि निर्मित ढुङ्गा र माटाका घर । एउटै घर जस्तो देखिने मगर जातिको बाहुल्यता रहेको जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका-१० स्थित तक । एउटा घरको छत माथिल्लो घरको आँगन । खेतीयोग्य जमिनलाई साँचेर अलग्गै बसाइएका बाक्ला बस्ती । प्राचीनकाल देखि हाल सम्म उस्तै छ परम्परागत मौलिकता बोकेको ग्रामीण जीवनशैली । कुनै चित्रकारको डिजाइनमा तयार गरिएको एकीकृत बस्तीको ढाँचाजस्तो । तर, बिलकुल ‘अग्र्यानिक’ । तक गाउँ एक उदाहरण मात्र हो । तक गाउँ जस्तै जिल्लामा थुप्रै बस्ती छन् । 


तक गाउँमा करिब पाँच सय घरधुरीको अवस्थित छ । गाउँपालिकाको केन्द्र समेत यही तक गाउँमै छ । यो गाउँमा वि.सं. २०४० साल माघ महिनाको १० गते स्वर्गीयद्वय राजा वीरेन्द्र र रानी ऐश्वर्य शाहको राजकीय भ्रमण समेत गर्नु भएको तक स्थित महेन्द्र माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मैत्या घर्ती मगरले बताउनुभयो । साथै अमेरिकी मूलकका प्रसिद्ध भाषा वैज्ञानिक डेविड वाटर्सले तकमै बसेर यस भेगको मगर खाम भाषाको गहन अध्ययन गरी अमेरिकाको ओरेगन विश्वविद्यालयबाट पीएचडीको शैक्षिक उपाधि हासिल गर्नु भएको अध्यक्ष घर्ती मगरले जानकारी दिनुभयो । 


साथै प्रख्यात जर्मन मानवशास्त्री माइकल अपिज सन् १९७० को दशकमा ७ वर्ष बसाइ गरी यहाँका झाँक्रीबारे व्यापक खोज अन्वेषण गर्दै विविध शोधग्रन्थ प्रकाशन समेत गर्नु भएको इतिहास रहेको घर्ती मगरको भनाइ रहेको छ । तक गाउँ राणाकाल र पञ्चायतकालमा कहिले पाल्पा, डोल्पा त कहिले बाग्लुङ जिल्लामा समावेश गर्दै आएको इतिहास छ । विं. सं. २०२० तिर साविक रुकुम जिल्ला समावेश गरे देखि हाल रुकुमपूर्वमा रहेको छ । 


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरले नयाँ शैक्षिक सत्र २०८० कक्षा १० को अनिवार्य अङ्ग्रेजी किताबको आवरणमा तक गाउँको फोटो राखेको छ । आन्तरिक तथा बाह्य पर्यटकको मुख्य रोजाइमा तक गाउँ नै पर्ने गरेको पुथाउत्तरगङ्गा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्ती मगरले बताउनुभयो । यसको साथसाथै शिक्षा जस्तो गरिमायम पाठ्यपुस्तकको आवरणमा समेत समेटिदिएकोमा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रलाई आभार प्रकट गर्दै अध्यक्ष घर्ती मगरले भन्नुभयो -“यसले आगामी दिनमा थप यी गाउँको अध्ययन, अनुसन्धानको केन्द्र बन्दै गइरहेको छनक दिएको ।”
प्राचीनकाल देखि हाल सम्म परम्परागत शैलीमै अवस्थित रहेको यी गाउँलाई जोगाइ राख्ने अध्यक्ष घर्ती मगरको भनाइ रहेको छ । यद्यपी पछिल्लो समयमा यी गाउँमा टिन र कङ्क्रिटका घर निर्माण गर्ने क्रममा रहेको अध्यक्ष घर्ती मगरले बताउनुभयो । मौलिकतालाई जोगाइ राख्ने हाम्रो मात्र नभई सबैको चासो देखिदैँ आएकोले नयाँ आर्थिक वर्ष देखि परम्परागत बस्तीलाई जोगाइ राख्न प्रोत्साहनका कार्यक्रम ल्याउने अध्यक्ष घर्ती मगरले जानकारी दिनुभयो । 


एक ऐतिहासिक एवम् परम्परागत कलात्मक बस्तीलाई उजागर तथा प्रचारप्रसार गर्ने उद्देश्यले किताबको आवरणमा एक दुर्गम गाउँको फोटो राखिएको पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरका सूचना अधिकारी डाक्टर बाबुराम ढुंगानाले जानकारी दिनुभयो । नेपालका कुना-कुनामा रहेका प्रख्यात ठाउँ र ऐतिहासिक बोकेका तर, ओझेलमा रहेका ठाउँहरूलाई पाठ्यक्रमको आवरणमा केन्द्रले समेट्ने गरेको सूचना अधिकारी डाक्टर ढुंगानाले बताउनुभयो । 


 

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update