दार्मा गाउँपालिकाले ६ नम्बर वडामा आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माण थालेको छ । सोही अनुसार सोमबार ज्यामिरेचौरमा भवनको शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष निमबहादुर केसीले भवनको शिलान्यास गर्नुभएको हो । एक वडा, एक आधारभुत स्वास्थ्य केन्द्र बनाउने नीति अनुरुप ज्यामिरेचौरमा स्वास्थ्य केन्द्रको भवन बन्न लागेको हो । ३८ लाख रुपैयाँमा बन्ने उक्त भवन ४ कोठाको हुने छ । ६ वडा रहेको दार्मा गाउँपालिकाका ३ वडामा यस अघि नै स्वास्थ्य चौकी छन् भने । ३ वडामा यही प्रकृतिका भवन बन्ने स्वास्थ्य शाखा प्रमुख यज्ञ बस्नेतले जानकारी दिनुभयो । भवन निर्माण पश्चात् स्वास्थ्य केन्द्रबाट बिरामी चेकजाँच, परिवार नियोजन सेवा, सुरक्षित मातृत्व, पोषण, नवशिशु तथा वालशिशु उपचार तथा परामर्श लगायतका सेवाहरू व्यवस्थित रूपमा प्रदान हुनेछ । भवन निमार्णपछि आधारभूत स्वास्थ्य केन्द्रबाट प्रवाह हुने स्वास्थ्य सेवा थप व्यवस्थित र गुणस्तरीय बन्ने विश्वास लिइएको छ ।