रुकुम पश्चिममा दोस्रो चरणमा ७ हजार बढीले कोरोना विरुद्धको खोप पाएका छन् । फागुन २३ गतेबाट सुरु भएको दोस्रो चरणको खोप अभियानमा जिल्लाका ७ हजार ३७ जनाले खोप पाएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । ६५ वर्ष माथिका जेष्ठ नागरिक र पहिलो चरणमा छुटेकालाई यो चरणमा खोप दिईएको स्वास्थ्य सेवा कार्यालयकी खोप सुपरभाईजर अधिकृत कृष्णा खड्काले जानकारी दिनुभयो । जिल्लाका करिब ९ हजार नागरिकलाई खोप दिने लक्ष राखिएकामा ७५ प्रतिशतले खोप पाएको उहाँको भनाई छ ।
‘अनुमानित ९ हजारलाई खोप दिने लक्ष थियो, त्यसको ७५ प्रतिशतले खोप पाएका छन्, लगभग सबै लक्षित व्यक्तिहरुले खोप पाएका छन्, केहि छुटेका हुन सक्छन्, उहाँले भन्नुभयो ।’ पहिलो चरणमा छुटेका केहि मात्र रहेको र खोप पाउँने अधिकांश ६५ वर्ष माथिका नागरिकहरु रहेको खड्काले बताउनुभयो । यसअघिका नियमित खोप केन्द्र मार्फत नै कोरोना विरुद्धको खोप लगाईएको थियो । जिल्लामा दोस्रो चरणमा खोप पाएकाहरुको अवस्था पनि सामान्य रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
पहिलो चरण जस्तै यो चरणमा पनि खोप लगाउनेमा सामान्य लक्षण देखिनु बाहेक अन्य कुनै जटिल समस्या देखा नपरेको कार्यालयको भनाई छ । यो संगै जिल्लामा हालसम्म ९ हजार ६ सय ४८ जनाले कोरोना भाईरस विरुद्धको खोप पाएका छन् ।