Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम कप भलिबलः फाइनलमा आयोजक रुकुम पश्चिम र सशस्त्र प्रहरी भिड्ने 
आयाेजक रुकुम पश्चिमकाे टिम ।

रुकुम पश्चिमको मुसिकोटमा जारी सर्वाधिक पुरस्कार राशिको रुकुम कप भलिबल प्रतियोगिताको फाइनलमा आयोजक रुकुम पश्चिम र सशस्त्र प्रहरी बल ६ नम्बर बाहिनी सुर्खेत भिड्ने भएका छन् । आज भएको सेमिफाइनलमा विजयी हुँदै यि दुई टिमले फाइनलमा स्थान पक्का गरेका हुन् । 

आज भएको पहिलो सेमिफाइनलमा सल्यानलाई पराजित गर्दै आयोजक रुकुम पश्चिम फाइनल पुगेको हो । आयोजकले निकै प्रतिस्पर्धात्मक खेलमा ३–२ को जित निकाल्यो । पहिलो सेट जितेको आयोजकले त्यसपछिका दुई सेट लगातार रुपमा गुमाएको थियो । 

पहिलो सेटमा पराजित भएपनि उत्कृष्ट पुनरागमन गरेको सल्यानलाई चौंथो र पाँचौं सेटमा भने रोक्दै आयोजक रुकुम पश्चिमले फाइनलमा स्थान पक्का गरेको हो । रुकुम पश्चिम र सल्यान दुवैले उत्कृष्ट खेल खेलेका थिए । 

आजै भएको दोस्रो सेमिफाइनलमा सुर्खेतलाई पराजित गर्दै सशस्त्र प्रहरी बल ६ नम्बर बाहिनी फाइनल पुग्न सफल भएको हो । सशस्त्रले ३–० को सोझो सेटमा सुर्खेतलाई पराजित गरेको हो । फाइनल खेल भोली दिउँसो हुने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम वि.एम.ले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले नगद ५ लाख पुरस्कार पाउने छ भने उप विजेताले नगद २ लाख ५० हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । सेमिफाइनलसम्मको यात्रा तय गरेका सल्यान र सुर्खेतले १/१ लाखमा चित्त बुझाएका छन् । फाइनल खेल भोली दिउँसो १ बजेदेखि सुरु हुने अध्यक्ष वि.एम.ले बताउनुभयो ।

यसैविच भोली हिमालय लोक स्टारका विजेता बलराम विश्वकर्माले पनि प्रस्तुति राख्ने आयोजकले जनाएको छ । लोक स्टार जितेर पहिलो पटक गृहजिल्ला आएका बलरामले भोली बराहटाकुरामा प्रस्तुति राख्न लाग्नुभएको हो । 

 

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update