रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा संचालित रुकुम कप भलिबलको उपाधि आयोजक रुकुम पश्चिमले जितेको छ । खलंगाको बराहटाकुरामा आज भएको फाइनलमा सशस्त्र प्रहरीको ६ नम्बर बाहिनीलाई पराजित गर्दै आयोजक रुकुम पश्चिमले उपाधि जितेको हो । प्रतिस्पर्धात्मक खेलमा रुकुम पश्चिमले सशस्त्रलाई ३–२ को सेटमा पराजित गरेको हो । पहिलो सेट रुकुमले जितेको थियो भने दोस्रो सेट सशस्त्रले जितेको थियो ।
त्यसपछि तेस्रो सेट रुकुमले जितेकामा चौंथो सेट भने सशस्त्रले जित्यो । पाँचौं तथा अन्तिम सेट भने रुकुम पश्चिमले जित्दै उपाधि उचाल्यो । रुकुम पश्चिम सेमिफाइनलमा सल्यान र सशस्त्र सुर्खेतलाई पराजित गर्दै फाइनल पुगेको थियो । विजेता रुकुम पश्चिमले नगद ५ लाख र ट्रफि उचालेको छ । उप विजेता बनेको सशस्त्रले २ लाख ५० हजारमा चित्त बुझाएको छ । सेमिफाइनलमा पुगेका सल्यान र सुर्खेतले समान १ लाख नगद पाएका छन् ।
त्यस्तै व्यक्तिगत इभेन्टमा खेलाडि पुरस्कृत गरिएको थियो । रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले प्रतियोगिता आयोजना गरेको हो । जिल्लामा पहिलो पटक टिकट शुल्क लिएर प्रतियोगिता संचालन गरिएको हो । प्रतियोगिता अवधिभर दर्शकको राम्रो साथ पाएको आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम विएमले बताउनुभयो । जिल्लाको भलिबल विकास र कर्णाली प्रदेशमै हुन लागेको १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुप प्रतियोगिता आयोजना गरिएको उहाँको भनाई छ ।