रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नंम्बर १ मा रहेको आधारभुत स्वास्थ्य इकाई भवन अझै प्रयोगमा आउन सकेको छैन । भवन निर्माण भएको लामो समय भैसक्दा पनि उक्त भवन प्रयोगमा आउन नसकेको हो । संघीय सरकारको ३८ लाख रुपैयाँमा ४ कोठे पक्की भवन निर्माण गरिएको छ ।
उपभोक्ता समिति मार्फत निर्माण भएको उक्त भवन ६ महिना सम्म प्रयोगमा नआउदा भवनमा जडान भएका सरसामग्री लथालिङ्ग भएका छन । नयाँ भवनबाट सेवा दिने आशामा रहेको स्वास्थ्य इकाई भने भाडाको घरबाट विरामीलाई सेवा दिदै आएको छ । वर्षमा १२ हजार रुपैयाँ भाडा दिदै आएको स्वास्थ्य इकाई ३ वर्ष देखि भाडाको घरबाट सञ्चालन भैरहेको हो ।
साँघुरो कोठाबाट बिरामीलाई सेवा दिँदा आफुहरुलाई असजिलो भएको स्वास्थ्य इकाई लागिमका इचार्ज सन्तोष सिङ ठकुरीले जानकारी दिनुभयो । वडा नंम्बर १ का वडा अध्यक्ष हर्कु मल्लले भने भवनको विषयमा उपभोक्ता समितिलाई सोध्नु पर्ने बताउनु भयो । उपभोक्ता समितिले किन भवन प्रयोगमा ल्याएको छैन आफुहरूलाई कुनै जानकारी नभएको उहाँको भनाई छ । उपभोक्ता समितिका अध्यक्ष पवनकुमार चन्दले गाउँपालिकाले भवनको अनुगमन नगरेको हुँदा प्रयोगमा नआएको बताउनुभयो ।
पालिकाले निर्माण भएको अनुगमन र बजेट भुक्तानी गरेपछि भवन प्रयोगका लागि हस्तान्तरण गर्ने अध्यक्ष चन्दको भनाई छ । गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले भवन निर्माण भैसक्दा पनि गाउँपालिकाले बजेट भुक्तानी गर्न नसकेको बताउनुभयो । योजना सम्पन्न भइसकेपनि उक्त योजनाका लागि विनियोजित बजेट प्राप्त नभएको र प्राप्त भएपछि बाँकी रकम भुक्तानी हुने अध्यक्ष केसीले बताउनुभयो ।
उक्त भवन निर्माणका लागि यो वर्ष पनि बजेट आउने हो । उपभोक्ताले बजेट आउन बाँकी रहेपनि भवन भने बनाइसकेका छन् । उपभोक्ता समितिले कार्य सम्पादनको रिपोटिङ्ग नगरेको र स्वास्थ्य मन्त्रालयबाट बजेट नआएको हुदा रकम भुक्तानी हुन ढिला भएको गाउँपालिकाले बताएको छ ।