Kakhara सबैको खबर सम्पूर्ण खबर
परम्परागत खेतीपाती प्रणालीलाई आधुनिकिकरणमा जोड
सिस्ने गाउँपालिकाले कृषकलाई हाते ट्याक्टर हस्तान्तरण गर्दै ।

रुकुम पूर्व सिस्ने गाउँपालिकाले कृषकलाई बारी खनजोतका लागि हाते ट्याक्टर वितरण गरेको छ । ८० प्रतिशत अनुदानमा गाउँपालिकाका पाँच कृषि फर्मलाई सोमबार हाते ट्याक्टर वितरण गरिएको हो । श्रम र समयको बचत, सिमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् ।

कृषिमा आधुनिकीकरण तर्फ अगाडि बढाउन ८० प्रतिशत अनुदानमा कृषि फर्मका कृषकलाई हाते ट्याक्टर वितरण गरिएको  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकाशविक्रम शाहले बताउनुभयो । गाउँपालिकाको ८० प्रतिशत सहुलियत अनुदानमा ट्याक्टर पाएपछि कृषक हर्षित भएका छन् ।परम्परागत रूपमा गोरु जोतिने स्थानमा हाते ट्याक्टर प्रयोग गर्दा सजिलो र काम छिटो छरितो हुने कृषकको भनाइ रहेको छ ।

मागमा आधारित कृषि कार्यक्रम अन्तर्गत कृषकले माग गरे अनुसार हाते ट्याक्टर वितरण गरिएको गाउँपालिकाले जनाएको छ । सिस्ने-५ का शैलेन्द्र कृषि फर्म, विमल स्थानीय तरकारी तथा नर्सरी फर्म, सिस्ने-६ का सावित्रा बहुउद्देश्यीय कृषि तथा पशुपंक्षी फर्म, जस्विन कृषि फर्म र सिस्ने-८ का विशाल स्याउ फर्म एक/एक वटा हाते ट्याक्टर वितरण गरिएको छ ।


बजारमा ७५ देखि ८० हजार रुपैयाँ पर्ने ट्याक्टर गाउँपालिकाको ८० प्रतिशत अनुदानमा कृषि फर्मलाई १७ हजार मूल्यमा ट्याक्टर पाएका छन् । कृषि यान्त्रिकीकरण गर्दै उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले किसानलाई अनुदानमा प्रविधि हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update