Kakhara सबैको खबर सम्पूर्ण खबर
आँखामा चोट लागे के गर्ने ?

आँखा मानव शरिरको एक महत्वपूर्न संवेदनशिल तथा कोमल अंग हो । यसले अँध्यारो, उज्यालो, राम्रो नराम्रो हेर्नुका साथै विभिन्न प्रकारका रङहरु छुट्याउने काम पनि गर्छ । चोटपटक जहिले पनि अचानक घट्ने गर्दछ । आँखामा भने अन्य शरीरको भागको तुलनामा कमै चोटपटक लाग्नेगर्छ । आँखाको चोटलाइ भने गम्भीरतापूर्वक लिनु पर्छ । एक सामान्य तथा साधारण चोटले आँखाको दृष्टि पूर्ण रुपले गुम्न सक्छ । 

आँखामा चोटपटक लागे पछि 

  • आँखा दुख्नु, 
  • दृष्टिमा कमि हुनु, 
  • आँखा रातो हुनु, 
  • आँखाबाट पानी  बग्नु, 
  • आँखा विझाउनु, 
  • आँखा सुनिनु, 
  • आँखा खोल्न गार्हो हुनु, 
  • आँखा पोल्नु, 
  • निलडाम बस्नु जस्ता लक्षणहरु देखा पर्न थाल्छन् ।  

सायदै कोहि व्यक्ति होला जसको जिवनमा कुनै पनि चोटपटक वा सानोतिनो दुर्घटना नभएको होला । धेरै जसो कलकारखाना, औधोगिक क्षेत्र र घरायसि काम गर्ने मानिसमा चोटपटक लाग्ने धेरै सम्भावना हुन्छ । जस्तै: घरमा रगंरोगन लगाउने, काठ-दाउरा चिर्ने, धान कुट्ने, ढुङ्गा खानीमा चट्टान फोड्ने, वेल्डिङ आदि काम गर्ने व्यक्तिलाई आँखामा चोटपटक लाग्न सक्छ र चोटलाग्ने सम्भावना पनि उत्तिकै धेरै रहन्छ । यसमा पनि अझै धेरै जोखिम बालबालिकाहरुलाई हुने गर्दछ । जस्तै: खेलाैनाको रुपमा धारिलो वस्तुहरु खेलाउन दिने, घरमा जथाभावी औधोगिक औजार र रसायनहरु राख्ने आदि ।यसले गर्दा गम्भिर किसिमको घटना घट्न सक्छ र बालबालिकाले सानो र कलिलो उमेरमै दृष्टि गुमाउन सक्छन् । यस्ता आँखाको चोटलाई गम्भीरतापूर्वक लिई समयमा नै प्राथमिक उपचार गर्नुपर्छ । यदि समयमै उपचार भएन भने समस्या पछि गम्भिर हुन सक्छ ।

चोटलागेमा के गर्ने-के नगर्ने:

  • कलकारखाना तथा औधोगिक क्षेत्रमा काम गर्ने व्यक्तिले आँखाको सुरक्षाको लागि काम गर्दा सुरक्षात्मक चस्मा लगाउनु पर्छ।
  • आँखामा भुलवश बाहिरि कुनै वस्तु, सिसाको टुक्रा वा धातुको टुक्रा प्रवेश गरेमा यस्तो अवस्थामा आँखा माड्नु हुदैन।
  • आँखामा कुनै कुरा प्रवेश गरेमा ऐनामा आफैले हेर्ने वा अरु कसैलाई आँखा हेर्न लगाउने र कुनै वस्तु छ कि छैन पत्ता लगाउनु पर्छ ।
  • आँखामा परेको बाहिरि वस्तु निकाल्न या हटाउन चिम्टि, औलाको नङ या कुनै सिन्काको प्रयोग गर्नु हुदैन।
  • आँखामा परेको वस्तु निकाल्न आँखाको तलमाथिको परेला च्यातेर तलमाथि, दायाँवायाँ हेर्ने र वारम्वार आँखा झिम्काउने तथा चिसोपानीले आँखामा छ्याप्ने गर्नुपर्छ र साथै पानीको वाल्टिमा टाउको डुवाएर आँखा खोल्ने र बन्द गर्ने गर्नुपर्छ।
  • आँखामा धारिलो वस्तु पसिहाल्यो भने आफुखुसि निकाल्न कोसिस गर्नु हुदैन, यसले गर्दा आँखालाई अरु धेरै नोक्सान हुन सक्छ ।
  • घरमा साङ्ला मार्ने वा लामखुट्टे भगाउने रसायन अथवा  अन्य कुनै रसायन छर्कदा आँखामा भुलवस परेमा आँखा माड्ने, आँखामा पट्टि बाध्ने वा जोडसंग चिम्लिने गर्नु हुदैन । यस्तो गर्दा रसायन आँखाको भित्रि सतहमा पुग्न सक्छ र ठुलो असर पुर्याउन सक्छ।
  • रसायन पदार्थ आँखामा परिहालेमा तत्काल लगातार २० देखि ३०  मिनेटसम्म सफा र शुद्ध पानीले आँखा धुने गर्नुपर्छ।
  • आँखामा भुत्ते वा धार नभएको (जस्तै: क्रिकेट र फुटबल) अथवा हातको मुट्ठिले चोट लाग्न सक्छ, यस्ताे अवस्थामा सफा रुमाल या तौलियामा वरफको टुक्रालाई वर्ने र प्रभावित आँखालाई हल्का किसिमले सेक्नु पर्छ।

माथि उल्लेख सल्लाह, सुझाव र उपायले पनि आराम नभए, आँखा दुखिरहे, आँखा खोल्न गाह्रो भए वा हेर्दा धमिलो देखिए तुरुन्तै आफ्नो पायक पर्ने नजिकैको आँखा उपचार केन्द्र अथवा अस्पताल गई आँखाको जाँच तथा उपचार गराउनु पर्छ । साथै चिकित्सक वा स्वास्थ्यकर्मिको सल्लाहबमोजिम औषधिको प्रयोग गर्नुपर्छ 

आँखामा चोट लागेमा आफु खुसि औषधि र घरेलु उपाएको प्रयोग नगरौ र नगराऊ । आफु सुरक्षित रहौं र अरुलाई पनि सुरक्षित राखौँ, साथै दृष्टिविहिन हुन बाट बचौँ र बचाऊ।

 

हजुरको दृष्टि, हाम्रो प्रतिवद्धता 

मन्दिप गौतम

दृष्टि विशेषज्ञ (Optometrist)

आँखा स्वास्थ्य सेवा तथा चस्मा घर

(आँखा उपचार केन्द्र)

मुसिकोट नगरपालिका, १-खलंगा रुकुम (पश्चिम

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update