Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम कप भलिबलः झण्डै १० लाख घाटा !

रुकुम पश्चिमको सरमुकाम मुसिकोट खलंगामा वैशाख १८ देखि २४ गतेसम्म संचालित रुकुम कप भलिबलको खर्च विवरण सार्वजनिक गरिएको छ । आज मुसिकोटमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले प्रतियोगिताको खर्च विवरण सार्वजनिक गरेको हो । 

आयोजकले सार्वजनिक गरेको खर्च विवरण अनुसार प्रतियोगिता संचालन गर्दा झण्डै १० लाख घाटा भएको छ । आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम विएमले ९ लाख ८६ हजार ७ सय १० रुपैयाँ तिर्न बाँकी रहेको बताउनुभयो । उहाँका अनुसार प्रतियोगिता संचालनका लागि कुल १७ लाख ७८ हजार रुपैयाँ खर्च भएको छ । 

आम्दानी ६ लाख ९१ हजार २ सय ९० रुपैंया मात्र रहेको उहाँले जानकारी गराउनुभयो । प्रतिवद्धता भए अनुसार १ लाख रुपैयाँ भने उठ्न बाँकी रहेको उहाँले बताउनुभयो । उठ्न बाँकी १ लाख रुपैयाँ उठ्यो भने आयोजकलाई ९ लाख ८६ हजार ७ सय १० रुपैयाँ घाटा रहेको उहाँले बताउनुभयो । 

आयोजकका अनुसार कर कट्टी गरेर पुरस्कारमा मात्र ७ लाख ६२ हजार ५ सय खर्च भएको छ । घेरबार, टेन्ट, मञ्च निर्माण र साउण्डमा ४ लाख, रेफ्रि भत्ता १ लाख ५० हजार, खेलाडी खाना तथा वासका लागि ९० हजार, आयोजक स्वयंसेवक खाना खाजा खर्च ६० हजार, स्वयंसेवक भत्ता ५० हजार र झण्डा, व्यानर, आइडी कार्डमा ४५ हजार खर्च भएको विवरण सार्वजनिक गरिएको छ । 

त्यस्तै अन्य खर्चमा कप, मेडल, प्रमाणपत्र, सम्मान पत्रमा ४३ हजार, रेफ्रि बस्न खान ४० हजार, प्रचारप्रसार ४० हजार, बल, नेट, स्टेशनरी ३५ हजार, नगरपालिकामा कर ३५ हजार, पानी ३० हजार, फिल्ड निर्माण २० हजार र टिकट प्रिन्टमा ७ हजार रहेको छ । आम्दानी तर्फ टिकट शुल्कबाट ३ लाख २१ हजार, सहयोगी दाताबाट २ लाख, टिम दर्ताबाट १ लाख ५ हजार र सहयोग रसिदबाट ६५ हजार २ सय ९० उठेको आयोजकको भनाई छ । 

स्थानीय तह र व्यक्तिबाट प्रतिवद्धता अनुसार १ लाख रुपैयाँ उठ्न बाँकी रहेको अध्यक्ष बिएमले बताउनुभयो । अनुमान गरे अनुसार दर्शकहरु नआएको र आश्वासन भए अनुसार सहयोग संकलन नभएका कारण धेरै घाटा लागेको उहाँले बताउनुभयो । सुरुका केही दिन प्रतिकुल मौसमका कारण दर्शक सोचे अनुसार आउन नसकेको उहाँले बताउनुभयो ।

346095020_564627385799591_7756049571846554130_n1683802735.jpg
पत्रकार सम्मेलन ।

बाँकी रहेको ऋण तिर्नका लागि विभिन्न निकाय र व्यक्तिहरुलाई सहयोगका लागि आग्रह गरिरहेको बिएमले बताउनुभयो । जिल्लामा पहिलो पटक कर्णाली प्रदेशकै सर्वाधिक पुरस्कार राशिको भलिबल आयोजना गरिएको थियो । त्यस्तै पहिलो पटक टिकट शुल्क समेत लिइएको थियो । प्रतियोगिताको विजेताले ५ लाख, उप विजेताले २ लाख ५० हजार र सेमिफाइनलमा पुग्ने २ टिमले समान १–१ लाख पुरस्कार पाएका थिए । 

त्यस्तै विभिन्न ९ वटा विधामा खेलाडी पुरस्कृत समेत गरिएको थियो । प्रतियोगिताको उपाधि आयोजक रुकुम पश्चिमले उचालेको थियो । सशस्त्र प्रहरीको ६ नम्बर बाहिनी उपविजेता बन्दा सल्यान र सुर्खेतले सेमिफाइनलसम्मको यात्रा तय गरेका थिए ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update