रुकुम पूर्व सिस्ने गाउँपालिका-७ स्थित नाथिगाड खोलाको निर्माणाधीन मोटरेबल पुल र सिस्ने-६ धाउने-भूमे गाउँपालिका-५ बालुवा हुँदै पुथाउत्तरगंगा गाउँपालिका-१४ को देउखोला सडक खण्डको छड्के अनुगमन गरिएको छ । जिल्लामा निर्माणाधीन गौरवका आयोजनाको अवस्था कस्तो छ भनी जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघबहादुर श्रेष्ठ, उपप्रमुख मोहनबहादुर केसी, निमित्त जिल्ला समन्वय अधिकारी रविन्द्र बुढाक्षेत्री, समन्वयका सूचना अधिकारी जसिराम खड्का लगायतको टोलीले बुधबार छड्के अनुगमन गर्नु भएको हो ।
छड्के अनुगमनको क्रममा नाथिगाड खोलाको मोटरेबल पुल निर्माणको काम अलपत्र अवस्थामा रहेको पाइएको समन्वय प्रमुख मेघबहादुर श्रेष्ठले बताउनुभयो । सडक पूर्वाधार विकास कार्यालय रुकुम पूर्वको योजना अन्तर्गतको दुई वर्ष अघि निर्माण थालिएको पुल निर्माणको काम हाल अलपत्र अवस्थामा रहेको श्रेष्ठले जानकारी दिनुभयो । हाल उक्त पुलको काम एक तर्फको आधी पर्खाल मात्र उठाइएको अवस्थामा रहेको प्रमुख श्रेष्ठले बताउनुभयो । पुल निर्माणको कार्यलाई निरन्तरताका लागि योजना कार्यालय र निर्माण व्यवसायलाई ताकेता गर्ने प्रमुख श्रेष्ठको भनाइ रहेको छ ।
यसैगरी धाउने-बालुवा-देउखोला सडक खण्डको कालोपत्रे तयारीको कामको अवस्थाबारे पनि छड्के अनुगमन गरिएको छ । साढे १० किलोमिटर लामो रहेको धाउने-बालुवा-देउखोला सडक खण्ड कालोपत्रेको लागि ८० प्रतिशत काम सम्पन्न भएको पाइएको अनुगमन टोलीले जानकारी दिएको छ । अधिकांश ठाउँमा नाली काट्ने, ग्रावेल, ग्याविन पर्खाल लगायतको काम पूरा भएको पाइएको उपप्रमुख मोहनबहादुर केसीले बताउनुभयो । अनुगमन पछि निर्माण व्यवसाय लामा कन्ट्रक्सन प्रालि काठमाण्डौँले अधिकांश काम पूरा भएको प्रतिक्रिया दिएको केसीले कखरासँग बताउनुभयो । बिच-बिचमा भत्किएका नाली र बाँकी कामलाई आउँदो असारको दोस्रो हप्ता सम्म काम पूरा गर्ने निर्माण व्यवसायले जनाएको केसीले बताउनुभयो ।
सडक स्तरोउन्नति सहित कालोपत्रेको लागि लामा कन्ट्रक्सनले भ्यात सहित करिब ३३ करोड बजेटमा ठेक्का लिएको छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी)को योजनामा उक्त सडक खण्डको कालोपत्रे काम भइरहेको छ । आरसिआइपीका कार्यान्वयन कार्यालय रुकुम पश्चिमका आयोजना व्यवस्थापक टङ्कप्रसाद खनालका अनुुसार धाउने-बालुवा-देउखोला खण्डको कालोपत्रेको काम आउँदो असार सम्ममा सम्पन्न गर्नु पर्ने बताउनुभयो । तर, कुनै कारणले समयमै कालोपत्रेको काम सम्पन्न हुन नसकेमा म्याद थप हुन सक्ने खनालले बताउनुभयो । यद्यपी निर्माण व्यवसायले समयवधिमै काम सम्पन्न गर्ने गरी काम गरिराखेका खनालको भनाइ रहेको छ ।
आरसिआइपीकै योजनामा पीएच/शङ्करमाली जेभी निर्माण सेवाले २०७५ असोजको पहिलो साता देखि ट्रयाक खोल्ने काम थालनी गरिएको पुथाउत्तरगंगा-१४ देउखोला-सिस्ने-२ नायगाड-पुथाउत्तरगंगा-१४ जामाबगर सडक खण्डको काम अलपत्र अवस्थामै रहेको छ । यसमा पनि जिल्ला समन्वय समितिले चासोका साथ लिइ राखेको निमित्त समन्वय अधिकारी रविन्द्र बुढाक्षेत्रीले बताउनुभयो । के कति कारणले निर्माण कार्य ढिला भइराखेको भनी निर्माण व्यवसाय र योजना कार्यालयलाई ध्यानाकर्षण गर्ने बुढाक्षेत्रीको भनाइ रहेको छ ।