रुकुम पूर्वको भूमे गाउँपालिका-२ खाबाङ बगरमा रहेको मारिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले कोसेली घर र कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । स्थानीयस्तरमा उत्पादित वस्तुको बजारीकरणका लागि सहकारीले कोसेली घर र कृषि एम्बुलेन्स सञ्चालनले कृषकलाई सहज भएको छ । कोसेली घरबाट खाद्यान्न वस्तु र हस्तकला मार्फत निर्मित वस्तु खरिद, बिक्री गरिराखिएको छ ।
गाउँपालिकाका ९ वटै वडामा उत्पादित स्थानीय वस्तुको प्रचारप्रसार तथा बजारीकरणमा सघाउने उद्देश्यले कोसेली घर र कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको सहकारीका व्यवस्थापक सन्दीप अधिकारीले बताउनुभयो । स्थानीय स्रोत साधनलाई अधिकतम प्रयोग गरी निर्मित तानका कपडा, स्विटर, उपहार सामग्री अन्य हस्तकलाका सामग्री कोसेली घरले खरिद, बिक्री गरिराखेको अधिकारीले जानकारी दिनुभयो । व्यवस्थापक अधिकारीले भन्नुभयो-“स्थानीयस्तरमा उत्पादित सामग्रीको प्रचारप्रसार हुनुका साथै बजारीकरणका लागि यसले महत्त्वपूणर् भूमिका खेलिरहेको छ ।”
उत्पादक र उपभोक्ता बीचमा समन्वयकारी भूमिका खेलेर सहकारीले दुई पक्षलाई जोडिदिने काम गरिरहेको स्थानीय ममिता रोका मगरले बताउनुभयो । कृषकले उत्पादन गरेका सामग्री कोसेली घरमा राखेर सहकारीले प्रचारप्रसारसँगै बजारीकरणका लागि काम गरेको रोका मगरले बताउनुभयो । यसले सामग्री तथा खाद्यान्न उत्पादन गर्न ऊर्जा मिलेको कृषकको भनाइ रहेको छ । कृषकले निर्माण गरेका सामग्री र खाद्यान्न उत्पादनलाई सडकको पहुँच रहेका सबै गाउँँमा कृषि एम्बुलेन्सले कोसेली घरमा ओसार्ने गर्ने गरिएको छ । अरु सवारी साधन भन्दा सहुलियत भाडामा कृषि एम्बुलेन्सले खाद्यान्न तथा निर्मित सामग्री ओसार्ने गरेको हो ।