Kakhara सबैको खबर सम्पूर्ण खबर
देउखोला-नायगाड-जामाबगरः म्याद थपेको थप्यै, सडक अलपत्रै
पाँच वर्ष देखि अलपत्रमा रहेको देउखोला-नायगाड-जामाबगर सडक खण्ड । तस्बिरः कखरा ।

रुकुम पूर्व पुथाउत्तरगङ्गा गाउँपालिका-१४ देउखोला-सिस्ने गाउँपालिका-२ नायगाड-पुथाउत्तरगङ्गा-१४ कै जामाबगर सडक खण्ड पाँच वर्ष देखि अलपत्र अवस्थामै छ । २०७५ असोजको पहिलो साता देखि देउखोला-नायगाड-जामाबगर-त्रिवेणी सडक खण्डमा ट्रयाक खोल्ने काम सुरु गरिएको थियो । 


त्यस देखि हाल सम्म सात पटक म्याद थप गरिएको छ । तर, अहिले सम्म पनि सडकको ट्रयाक खोल्ने काम अलपत्र अवस्थामै रहेको छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी)को बजेटमा पीएच/शङ्करमाली जेभी निर्माण सेवाले सडक निर्माणको जिम्मा पाएको छ । ११.६ किलोमिटर लामो यस सडक खण्डमा पहरा र चट्टान भएको ३ किलोमिटर ठाउँमा ट्रयाक खोल्ने काम चार वर्ष देखि अलपत्र पारिएको छ । 


यो ग्रामीण सडक खण्ड जिल्लाको उत्तर, दक्षिणलाई जोड्ने एक महत्त्वपूणर् सडक रहेको हो । रुकुम पश्चिम हुँदै रुकुमपूर्वको देउखोला सम्म हाल यो सडक सञ्चालनमा रहेको छ । भविष्यमा यस सडकलाई रुकुम पश्चिम-रुकुमपूर्व हुँदै डोल्पासँग जोड्ने बताइएको छ । देउखोला-नायगाड-जामाबगर सडक ट्रयाक खोल्ने देखि सडक कालोपत्र गर्ने गरी ठेक्का लागेको आरसिआइपीका कार्यान्वयन कार्यालय रुकुम पश्चिमका आयोजना व्यवस्थापक टङ्कप्रसाद खनालले बताउनुभयो । तर, भौगोलिक विकटताका साथसाथै निर्माण व्यवसायको लापरबाहीका कारण पाँच वर्ष सम्ममा पनि ट्रयाक पनि नखोलिएको खनालले बताउनुभयो । 


खनालले भन्नुभयो -“यो पाँच वर्षको अवधिमा सात पटक म्याद थप गरियो । यद्यपी, म्याद थपेको पिच्छे, सडक निर्माणको काम अलपत्र परेको छ ।” ठेकेदारले विभिन्न कारणले काममा अवरोध आयो भन्दै अर्को पटक जसरी पनि काम गर्छौ भन्दै म्याद थपेको थप्यै गर्न पठाएको व्यवस्थापक खनालको भनाइ रहेको छ । सात पटक सम्म म्याद थप गर्दा सम्म पनि ठेकदारले काम गर्ने छाँटकाँट नदेखाएको खनालले जानकारी दिनुभयो । 


यो सातौँ पटकको म्याद थपको समय असार सम्म रहेको छ । अहिले पनि ठेकेदारले काम नगरिराखेकोले असार महिनामा पनि काम गर्न सक्ने देखिएको खनालको भनाइ रहेको छ । अब ठेकेदारलाई म्याद थप गर्ने अवस्था नरहेको खनालले सुनाउनुभयो । पीएच/शङ्करमाली जेभीसँग ठेक्का तोड्ने मात्र नभई जेभीलाई कालो सूचीकाका लागि सिफारिस गरिने खनालले बताउनुभयो । यस सडक निर्माण भएमा सिस्ने गाउँपालिकाका-१ र २ तथा पुथाउत्तरगङ्गा गाउँपालिकाकाका १४ वटै वडाका लागि महत्त्वपूणर् सडक सञ्जालको रूपमा स्थापित हुने छ । हाल निर्माण कार्यमा ढिलाइ सुस्तीले यहाँका नागरिकलाई सरसामान ओसारपसारमा सारै सास्ती भइरहेको पुथाउत्तरगङ्गा-१४ का नामेन्द्र सुनारले बताउनुभयो । 


यस सडक खण्डमा जिल्ला समन्वय समितिले चासोका साथ लिइ राखेको निमित्त समन्वय अधिकारी रविन्द्र बुढाक्षेत्रीले बताउनुभयो । के कति कारणले निर्माण कार्य ढिला भइराखेको भनी निर्माण व्यवसाय र योजना कार्यालयलाई ध्यानाकर्षण गर्ने बुढाक्षेत्रीको भनाइ रहेको छ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update