Kakhara सबैको खबर सम्पूर्ण खबर
आधारभुत स्वास्थ्य सेवाका लागि अर्को वडा जानु नपर्ने
भवन उद्घाटनमा सहभागिहरु ।

त्रिवेणि गाउँपालिका ८ का नागरिकलाई आधारभुत स्वास्थ्य सेवाका लागि अब अर्को वडामा जानु नपर्ने भएको छ । रुकुम पश्चिमको यस गाउँपालिकाको ८ नम्बर वडाको माझगाउँमा आधारभुत स्वास्थ्य सेवा इकाई सञ्चालनमा आएको छ । आफ्नै भवन निर्माण गरी स्वास्थ्य सेवा प्रवाह सुरु गरिएको हो ।

यस अघि यस वडाका सर्वसाधारण स्वास्थ्य सेवाका लागि ९ र १० नम्बर वडाको सिमाना मानटुरामा रहेको स्वास्थ्य चौकीमा जानु पर्दथ्यो । त्यस अघि ८ नम्बर वडाकै पेदीखेतमा रहेको स्वास्थ्य चौकीलाई पछि मानटुरामा सारिएको थियो । मानटुरामा प्रसुती सहितको सेवा सञ्चालनमा छ । माझगाउँमा ३ जना स्वास्थ्यकर्मीले सेवा प्रवाह सुरु गरेका छन् । गाउँपालिकाले आवश्यक उपकरण र औषधीको व्यवस्था गरेको छ । उक्त स्वास्थ्य भवनको उद्घाटन भएको छ ।

जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्मा र गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्ती मगरले उद्घाटन गर्नुभयो । भवन उद्घाटन गर्दै समन्वय प्रमुख शर्माले आधारभुत स्वास्थ्य सेवा पाउने जनताको हक सुनिश्चित भएको बताउनुभयो । वडाबाटै आधारभुत स्वास्थ्य सेवा प्रवाहका लागि नव निर्मित भवनले सहयोग पुग्ने विश्वास उहाँको छ । समग्र विकासमा अघि बढेको रुकुम पश्चिम जिल्ला सबैतिर समानुपातिक भौतिक विकास र मानविय विकास गर्दै अघि बढिरहेको शर्माले बताउनुभयो ।

संघीय सरकारको आर्थिक सहयोगमा उक्त भवन निर्माण भएको हो । वडाध्यक्ष कर्णबहादुर खड्काले २५ लाख ७१ हजार ८ सय ६५ रुपैयाँमा उक्त भवन बनेको जानकारी दिनुभयो । ३८ लाख रुपैयाँमा भवन बनाउने भनिएपनि भवन निर्माणमा २५ लाख ७१ हजार रुपैयाँ मात्रै खर्च भएको वडाध्यक्ष खड्काले बताउनुभयो । भवनको मूल्यांकन भएजत्ति भुक्तानी दिइएको छ । गाउँपालिकाले ४ वडामा आधारभुत स्वास्थ्य इकाईका भनव बनाइ सकेको छ ।

८ नम्बर वडा सहित ९, ५ र १ नम्बर वडाको भवन बनिसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश पुनले जानकारी दिनुभयो । गाउँपालिका र रेडक्रसको सयुंक्त लगानीमा २ नम्बर वडाको गैरीनेटामा पनि यो भवन निर्माण भइरहेको छ । अरु सबै वडामा स्वास्थ्यका भवन निर्माण भइसकेको र अब ६ नम्बर वडामा मात्रै भवन बनाउन बाँकी रहेको पुनले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति: शनिबार, चैत ७, २०७७  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update