Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबीसकोटका ४ वटा विद्यालयको तह घटुवा

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले ४ वटा विद्यालयको तह घटुवा गरेको छ । आइतबार बसेको नगरकार्यपालिका बैठकले ११, १२ सम्म संचालनमा रहेका नगरका ४ वटा विद्यालयको तह घटुवा गर्ने निर्णय गरेको हो । 

प्रभावकारी पठन पाठन नभइरहेका, परीक्षा मात्र संचालन हुने गरेका, दरबन्दी अभावमा संचालनका लागि समस्या भएका, विद्यार्थी संख्या कम भएका बिद्यालयको तह घटुवा गरिएको नगर शैक्षिक गुणस्तर परीक्षण केन्द्रका शिक्षा परीक्षक थलबिर ओलीले जानकारी दिनुभयो । 

उहाँका अनुसार तह घटुवामा पर्ने विद्यालयमा वडा नम्बर ४ को ज्ञानोदय मावि चौतारा, वडा नम्बर ३ को हिमालय मावि खदी, वडा नम्बर ९ कालिका मावि सुन्दरपानी र वडा नम्बर १० को जनता मावि झिन्चौर रहेका छन् । 

यि मध्य जनता मावि झिन्चौर र ज्ञानाेदय मावि चाैतारामा कक्षा १–१२ सम्म पढाई भइरहेको थियो भने अन्य दुई विद्यालयमा कक्षा १–११ सम्म पढाई भइरहेको थियो । ४ वटै विद्यालयका कक्षा १० भन्दा माथिका कक्षाहरु हटाउने निर्णय भएको नगर शिक्षा परीक्षक ओलीले बताउनुभयो । अव यि सबै विद्यालय कक्षा १० सम्म मात्र संचालन हुने छन् । 

त्यस्तै वडा नम्बर ४ को ज्ञानोदय मावि चौतारामा भने कक्षा ६–१० सम्म पढाई हुने छ । कक्षा १–५ पढाई हुने गरी चित्रिपाटन आधारभूत विद्यालय बाहुनगाउँमा संचालन गर्ने नगरकार्यपालिकाले निर्णय गरेको छ । यो विद्यालय यस अघि बालविकाससम्म मात्र संचालन हुने गरी तह घटुवामा परेको थियो । 

त्यस्तै नगरकार्यपालिकाले वडा नम्बर ९ का बालकल्याण मावि र सहिद स्मृति विद्यालय समायोजनका लागि नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको छ । उक्त समितिले १५ दिनभित्र सुझाव सहितको प्रतिवेदन दिने कार्यादेश पाएको छ । 

नगरकार्यपालिकाले हाल संचालनमा रहेका विद्यालयका लागि विद्यार्थी संख्याको मापदण्ड पनि बनाएको छ । कक्षा ५ देखि माथि प्रति कक्षा कम्तिमा २३ जना विद्यार्थी हुनैपर्ने नभए तह कटौती वा मर्ज गर्ने निर्णय भएको नगर शिक्षा परीक्षक ओलीले बताउनुभयो । 

छिमि, रोकाजा, पाटागाउँ, सवारी र मन्काबगरका सन्दर्भमा भने १५ जना विद्यार्थी भएपुग्ने बताइएको छ । त्यस्तै नगरपालिकाले चालु शैक्षिक सत्रका लागि शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत र प्रत्येक विद्यालयका प्रध्यानाध्यापकका विचमा एक वर्षको करार सम्झौता गर्ने भएको छ । यसका आधारमा प्रअलाई निरन्तरता दिने कि नदिने भनेर निक्र्योल हुने नगरपालिकाले जनाएको छ । 

यसका साथै कक्षा १ देखि ५ सम्म संचालनमा रहेका विद्यालयमा मापदण्ड बमोजिम विद्यार्थी नभएमा दरबन्दी कटौति गर्ने पनि नगरकार्यपालिकाले निर्णय गरेको छ । नगरपालिकाले यसअघि नगरभरमा कार्यरत रहेका अढाई सय करारका शिक्षकहरुको सम्झौता रद्ध गरेको थियो । 
 

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update