नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले पार्टीका सबै सदस्य शेयर सदस्य रहने गरी कम्पनी दर्ता गर्ने भएको छ । पार्टी जिल्ला समन्वय समितिको छैटौं पूर्ण बैठकले कार्यकर्ताको संरक्षण र उनीहरुको दीगो व्यवस्थापनका लागि सबै पार्टी सदस्यहरु शेयर सदस्य रहने गरी असार मसान्तसम्म एक कम्पनी दर्ता गर्ने निर्णय गरेको हो ।
यसको कानुनी र प्रक्रियागत कामको जिम्मेवारी पार्टीको उत्पादन विभागलाई दिइएको छ । तर कस्तो खालको कम्पनी दर्ता गर्ने भन्ने बारे छलफल जारी रहेको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक गोविन्द रोका सचिनले जानकारी दिनुभयो ।
‘कम्पनी कुन वा कस्तो हुने भनेर छलफल मै छौं, तर कम्पनी मार्फत सबै कार्यकर्तालाई शेयर धनी बनाउने निर्णय भएको छ, उहाँले भन्नुभयो ।’ त्यस्तै पार्टीले विकास निर्माण अन्तर्गत आवधिक योजना निर्माणको काम गर्ने, स्थानीय सरकारले तय गर्ने आर्थिक वर्ष २०८०/८१ को बजेट तथा कार्यक्रममा समेट्नुपर्ने विषयहरु तय गर्नुका साथै सो को कार्यान्वयनका लागि पहल गर्ने निर्णय गरेको छ ।
बजेट तथा कार्यक्रममा श्रम सहकारी मार्फत विकास निर्माणका काम गर्ने, उपभोक्ता समितिका पदाधिकारी नदोहोर्याउने, जनप्रतिनिधिका एकाघरका सदस्यहरु उपभोक्ता समितिमा नबस्ने, पढ्दै कमाउदै कार्यक्रम संचालन गर्ने, शैक्षिक गुणस्तर सुधार बारे जिल्लामा नीतिगत एक रुपता कायम गर्ने समेत बैठकले निर्णय गरेको जिल्ला संयोजक रोकाले बताउनुभयो ।
यसै बैठकले जिल्लाका सबै वडामा खटिने गरी केन्द्रीय सदस्य र प्रदेश समिति सदस्यहरुको भौगोलिक कार्यक्षेत्र समेत विभाजन गरेको उहाँले बताउनुभयो । जिल्लामा यसअघि गठित विभिन्न विभागहरुमा हेरफेर समेत गरिएको छ ।
जिल्ला संयोजक रोकाका अनुसार १९ जना पार्टी सदस्यलाई जिल्ला कार्यालयमा जानकारी नगराई पार्टीले संचालन गरेको २ महिने संगठन सुदृढिकरण अभियानको समिक्षा बैठकमा अनुपस्थित भई पार्टीको विधिान २०७८ को धारा ५७ (ण) बमोजिम कसुर गरेकोले सोही विधानको धारा ५७ (२) (क) अनुसार आलोचनाको कारवाही गर्नुका साथै र आगामी दिनमा त्यस्तो गल्ती नदोहोर्याउन सचेत बनाइएको छ ।