Kakhara सबैको खबर सम्पूर्ण खबर
१० महिनामा मुसिकोट नगरपालिकाको वित्तीय प्रगति ५५ प्रतिशत

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा आधा भन्दा केही बढी बजेट खर्च गरेको छ । गत श्रावण देखि आजसम्म नगरपालिकाले कुल बजेटको ५५.१ प्रतिशत बजेट खर्च गर्न सकेको छ । अव दुई महिनामा नगरपालिकाले ४५ प्रतिशत बजेट खर्च गर्नुपर्ने बाध्यता रहेको छ । 

नगरपालिकाको चालु आर्थिक वर्षको कुल बजेट ८५ करोड ७७ लाख ९४ हजार रहेको छ । जसमा हालसम्म ४७ करोड २६ लाख ६९ हजार खर्च भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले बताउनुभयो । चालुको तुलनामा पुँजीगत खर्च कम रहेको छ । 

चालु खर्च ५९.६३ प्रतिशत रहेको छ भने पुँजीगत खर्च ४६.४२ प्रतिशत मात्र रहेको छ । चालु तर्फ कुल ५६ करोड ३८ लाख २ हजार ९ सय १२ रुपैयाँ बजेट रहेकामा हालसम्म ३३ करोड ६२ लाख ७ हजार २ सय ३३ रुपैयाँ खर्च भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्काले बताउनुभयो । 

उहाँका अनुसार पुँजीगत तर्फ कुल २९ हजार ३९ लाख ९१ हजार ६ सय १३ रुपैयाँ रहेकामा आजका दिनसम्म १३ करोड ६४ लाख ६२ हजार ६ सय १७ रुपैयाँ भुक्तानी भएको छ । अहिलेकै अवस्थामा गतवर्षको तुलनामा यो वर्षको खर्चको प्रगति केही राम्रो रहेको उहाँले बताउनुभयो । 

ठूला योजनाहरुको भुक्तानी हुन बाँकी रहेकोले अहिले खर्च प्रतिशत कम देखिएको भएपनि चिन्ता गर्नुपर्ने अवस्था नरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको औषत वार्षिक वित्तिय प्रगति ७०–८० प्रतिशतका विचमा रहने गरेको छ । गत वर्ष भने ८४.७१ प्रतिशत वित्तिय प्रगति रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्काले बताउनुभयो । 

गतवर्ष नगरपालिकाले १४ करोड ३६ लाख रुपैयाँ खर्च गर्न सकेको थिएन । यो वर्ष पनि अघिल्लो वर्षकै हाराहारीमा खर्च हुने देखिएको खड्काको भनाई छ । कार्यतालिका नै बनाएर योजना कार्यान्वयन गरिरहेको उहाँले बताउनुभयो । 

स्थानीय योजनाहरु चैत मसान्तसम्म, प्रदेश र संघका योजनाहरु बैशाख मसान्त र ठेक्काका योजनाहरु असार पहिलो हप्तासम्म सक्ने गरी नगरकार्यपालिकाले निर्णय गरेको थियो । तर तोकिए अनुसार भने काम हुन सकेको देखिदैन । जसका कारण आर्थिक वर्ष सकिन २ महिना मात्र बाँकी रहदा पनि आधा मात्र बजेट खर्च हुन सकेको छ ।

सम्झौता ढिलो हुनु, काम सकेपनि उपभोक्ताहरु समयमै भुक्तानी लिन नआउनु, ढिलो गरी अख्तियारी आउनु, बजेटको सुनिश्चितता नहुनु लगायतका कारणले समयमै बजेट खर्च समस्या भइरहेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्काले बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update