Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटमा खानेपानीको अभाव 
सहिद मैदानमा रहेकाे धारामा पानी भर्न रातकाे समयमा लाइन लागेकाहरु ।

रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगामा खानेपानीको समस्या देखिएको छ । पछिल्ला दिनहरुमा बजार क्षेत्रमा खानीपानीको नियमित वितरण हुन छाडेको छ । जसका कारण बजारवासी खानेपानीको समस्यामा परेका छन् । अहिले बजारवासीलाई खानेपानीको जोहो गर्न धौ धौ भएको छ । 

यसअघि बिहान र साँझ नियमित रुपमा खानेपानी आउने गरेपनि पछिल्ला केही दिन देखि भने धारामा पानी आउनै छाडेको छ । मासिक रुपमा पैसा तिरेपनि सहज रुपमा पानी नपाएको बजारवासीको गुनासो छ । पानी नआउदा निकै समस्या भएको खलंगामा कोठा भाडामा बसिरहनुभएका विशाल बिष्टले बताउनुभयो । 
पानी नआएको भन्दै उहाँले सामाजिक सञ्जाल फेसबुकमा आक्रोस व्यक्त गर्नुभएको छ । खानेपानीको अभाव भएको भन्दै धेरैले सामाजिक सञ्जाल मार्फत आक्रोश पोखिरहेका छन् । नियमित रुपमा पानी आउन छोडेपछि खलंगा आसपासमा रहेका खानेपानीका मुहानमा भिड लाग्ने गरेको छ । 

खलंगाको सहिद मैदान, टटेला लगायतका मुहानमा भिड बढेको हो । त्यस्तै केही लाइनमा पानी आउने गरेकोले उक्त ठाउँमा पानी भर्नेको लामो लाइन लाग्ने गरेको छ । 

खलंगामा खानेपानी वितरण गरिरहेको मुसिकोट खानेपानी उपभोक्ता संस्थाले पानीको मुख्य लाइनमा क्षति पुग्दा समस्या भएको बताएको छ । संस्थाका महासचिव महेन्द्र गौतमले जिल्ला हुलाक नजिक मुख्य लाइनमा क्षेति पुगेका कारण बजारमा नियमित खानेपानी वितरण गर्न नसकिएको बताउनुभयो । 

एकीकृत भवनमा रहेको माटो फाल्दा खानेपानीको मुख्य लाइनमा क्षेति पुगेको उहाँको भनाई छ । उहाँका अनुसार माटोका कारण करिब २२ मिटर जिआई पाइप भाँचिएको छ । भाँचिएको ठाउँमा नयाँ पाइप राख्ने काम भइरहेको र आज साँझ सम्ममा काम सकिने महासचिव गौतमले बताउनुभयो । 

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update