Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा झण्डै साढे २५ सय घरमा खरको छाना विस्तापित गरिदैं 
फाइल फाेटाे ।

रुकुम पश्चिममा पछिल्लो सयम खरको छाना हटाउने कामले तिव्रता पाएको छ । जिल्ला भर खरकोे छाना हटाउने कामले तिव्रता पाएको हो । ३ नगरपालिका र ३ गाउँपालिका मिलेर बनेको रुकुम पश्चिममा सबै स्थानीय तहले खरको छाना हटाउने योजनालाई प्राथमिकताका साथ अगाडि बढाएका छन् ।

जिल्लाभर यो आर्थिक वर्षमा २५ सय २२ घरमा खरको छाना विस्तापित गरेर जस्ताको पाता राखिदै छ । सबैभन्दा बढी १६ सय खरका छाना विस्तापित गरेर जस्तापाता राख्ने लक्ष्य आठबीसकोट नगरपालिकाले लिएको छ । भने सबै भन्दा कम ५२ खरका छाना विस्तातित गरेर जस्तापाता राख्ने लक्ष सानीभेरी गाउँपालिकाले लिएको छ । 

मुसीकोट नगरपालिकाले १ सय ६१, चौरजहारी नगरपालिकाले २ सय ३०, त्रिवेणी गाउँपालिकाले २ सय १४ र बाँफिकोट गाउँपालिकाले २ सय ६५ खरका छाना विस्थापित गर्ने लक्ष्य लिएको छ । खरको छाना विस्थापितका लागि स्थानीय सरकारले प्रति परिवार ५० हजारका दरले रकम विनियोजन गरेका छन् । बाँफिकोट गाउँपालिका र मुसिकोट नगरपालिकाले भने फरक बजेट विनियोजन गरेका छन् । मुसीकोटले १ सय ६१ घरधुरीलाई ५५ हजारका दरले रकम विनियोजन गरेको नगरकार्यपालिका प्रवक्ता समिरजङ मल्लले जानकारी दिनुभयो । 

उहाँका अनुसार नगरपालिकाले ८९ लाख बजेट विजियोजन गरेको छ । ५० प्रतिशत काम सम्पन्न गरेर भुक्तानी समेत लिइसकेको र बाँकी ५० प्रतिशतले निर्माणको काम गरिरहेको उहाँले बताउनुभयो । बाँफिकोट गाउँपालिकामा २ सय ६५ घरमा खरको छाना विस्थापित हुँदा ३४ घरधुरीले जस्तापाताको लागि ३१ हजार ८ सय २३ र बाँकी २ सय ३१ घरधुरीले ५० हजारका दरले रकम प्राप्त गर्ने बाँफिकोट गाउँपालिकाका प्राविधिक प्रमुख दलबहादुर ओली बताउनुभयो । 

अन्य ४ पालिका चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका, सानीभेरी गाउँपालिका र आठबीसकोट नगरपालिकामा भने खरका छाना विस्थापित गर्न छनोटमा परेका प्रत्यक घरले समान ५० हजार रकम प्राप्त गर्ने छन् । १६ सय खरका छाना विस्थापित गरेर जस्तापाताले घर छाउने लक्ष लिएको आठबीसकोट नगरपालिकाले ९ करोड बजेट विजियोजन गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिनुभयो । उहाँका अनुसार यो आर्थिक वर्षमा नगरपालिकामा ठुलो संख्यामा खरका छाना विस्थापित गरेपनि पुरै सकिने छैन् ।  

आउँदो आर्थिक वर्षमा नगरपालिकामा थप विस्थापित गर्नुपर्ने अवस्था रहेको उहाँको भनाई छ । त्यस्तै सानीभेरी गाउँपालिकामा खरको छाना विस्थापित गर्न २६ लाख, त्रिवेणी गाउँपालिकामा १ करोड ७ लाख र चौरजहारी नगरपालिकामा १ करोड १५ लाख रकम विनियोजन गरिएको जनाएको छ । आर्थिक अवस्था कमजोर, खरको छाना भएका र विपन्न परिवारलाई वडाले सिफारिस गरेको आधारमा छनोट त्रिवेणी गाउँपालिका योजना शाखाका अमरराज पुनले जानकारी दिनुभयो 

खरको छाना हटाएर जस्ता पाताले घर निर्माण गर्न नसक्ने अवस्थामा रहेकालाई स्थानीय सरकारले ५० हजार रकम बराबरको जस्तापाता प्रदान गर्दा घर निर्माणमा ठुलो राहत मिलेको त्रिवेणी गाउँपालिका वडा नम्बर २ का मोतिराम ओलीले बताउनुभयो । उहाँले भन्नुभयो केही रकम आफै जुटाउन परेपनि स्थानीय सरकारले जस्तापाता किन्ने रकम उपलब्ध बनाउँदा सहज भएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update