Kakhara सबैको खबर सम्पूर्ण खबर
भ्रष्टाचार विरुद्ध बास रूकुम पश्चिमकाे १० बुँदे ज्ञापन पत्र 
निमित्त प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाइदैं ।

भ्रष्टाचार बिरुद्ध बागेश्वरी असल शासन क्लव (बास) नेपाल रुकुम पश्चिमले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा ज्ञापन पत्र बझाएको छ । आज बास नेपाल रुकुम पश्चिमका अध्यक्ष कर्णबहादुर विकको समुहले जिल्ला प्रशासन कार्यालयमा पुगेर निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाल मार्फत प्रधानमन्त्रीलाई भ्रष्टचार विरुद्ध ज्ञापन पत्र बुझाएको हो । भ्रष्टाचारको कुनै राजनीतिक र भौगोलिक सीमा नहुने हुनाले भ्रष्टाचार नियन्त्रणका लागि सरकार समक्ष माग राखिएको बास नेपाल रुुकम पश्चिमका जिल्ला अध्यक्ष विकले बताउनुभयो । 

अहिले देशको छबिलाई नै धुमिल बनाउने गरी नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई संयुक्त राज्य अमेरिका पठाउनका लागि भएको राज्यशक्तिको दुरुपयोगबाट विश्वमा बद्नाम हुने स्थिति सृजना भएकाले व्यक्तिगत स्वार्थका लागि नेपाली नागरिकलाई बेच्ने कार्य घृणित र देशद्रोही काम भएको उल्लेख गर्दै अपराधमा संलग्न कोही, कसैलाई कुनै पनि बाहनामा नछाड्न नागरिक समाजका तर्फबाट खवरदारी  गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

भ्रष्टचार विरुद्ध प्रभावकारी पहलकदमी चाल्न विभिन्न १० बुँदे माग समेत ज्ञापनपत्रमा पेश गरिएको छ । भ्रष्टाचार विरुद्धको प्रभावकारी उत्तम अभ्यासको विकास र प्रवर्द्धनमा जोड दिन, भ्रष्टाचार विरुद्धका संयन्त्रको क्षमता तथा प्रभावकारिता अभिवृद्धि गर्न, राजनीतिक दलहरुलाई पारदर्शि बनाउने व्यवस्था गर्न, सरकारको काम कारबाहीको सार्वजनिक सूचनाप्रवाह र काममा पारदर्शिता कायम गर्न,  कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा व्याप्त भ्रष्टाचारको नियन्त्रण गर्न सरकारसंग माग गरिएको छ । 

त्यस्तै भ्रष्टाचार विरुद्धको अभियानमा अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि, नेपाल सरकारको सुशासन कार्ययोजना, भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संस्थागत विकास गर्न, भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलताको रणनीति अवलम्वन गर्न, राष्ट्रिय सर्तकता केन्द्र, हेलो सरकारलाई प्रभावकारी बनाउन समेत ज्ञापन पत्रमा  भनिएकाे छ । 

ज्ञापनपत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले मागहरु सान्दर्भिक रहेको बताउँदै तत्काल प्रधानमन्त्री कार्यालयमा पठाउने बताउनुभयो । उक्त कार्यक्रममा बासका पूर्व केन्द्रिय अध्यक्ष राजु लामिछाने, पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसी, बास रुकुम शाखाका पदाधिकारीहरु लगाएत पत्रकारहरुको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update