आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि रुकुम पश्चिमका ६ वटा स्थानीय तहले २ अर्व बढी बजेट पाएका छन् । संघीय सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमा रुकुम पश्चिमका स्थानीय तहका लागि २ अर्व २२ करोड ६३ लाख रहेको छ । समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान शिर्षकमा उक्त परिमाणको बजेट जिल्ला आउने भएको हो ।
यो चालु वर्षको भन्दा कम हो । चालु वर्षका लागि संघीय सरकारले कुल २ अर्व २६ करोड ७४ लाख बजेट विनियोजन गरेको थियो । तीन नगरपालिका र तीन गाउँपालिका रहेकामा सबै भन्दा बढी बजेट मुसिकोट नगरपालिका र कम बजेट बाँफिकोट गाउँपालिकाका लागि विनियोजन गरिएको छ । मुसिकोट नगरपालिकाले आगामी वर्षका लागि संघीय सरकारबाट कुल ४९ करोड १ लाख पाउने छ भने बाँफिकोटले ३१ करोड ७७ लाख पाउने छ ।
आठबीसकोट नगरपालिकाका लागि ३८ करोड ७३ लाख, चौरजहारी नगरपालिकाका लागि ३७ करोड ५३ लाख, त्रिवेणी गाउँपालिकाका लागि ३३ करोड ३४ लाख र सानीभेरी गाउँपालिकाका लागि ३२ करोड २५ लाख विनियोजन गरिएको छ ।
चालु वर्षमा पनि मुसिकोटमा सबैभन्दा धेरै र सबैभन्दा कम बजेट बाँफिकोट गाउँपालिकामै आएको थियो । चालु वर्षका लागि संघीय सरकारले मुसिकोटमा ५४ करोड ८४ लाख, आठबीसकोटमा ३८ करोड ३५ लाख, चौरजहारीमा ३७ करोड ७० लाख, त्रिवेणीमा ३३ करोड ४२ लाख, सानीभेरीमा ३१ करोड २३ लाख र बाँफिकोटमा ३१ करोड २० लाख बजेट विनियोजन गरेको थियो ।