रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा पछिल्लो समय लम्पी स्किन रोग तिव्र रुपमा फैलिएको छ । पशु चौपायलाई लाग्ने लम्पी स्किन रोग त्रिवेणी गाउँपालिकामा पछिल्लो समय तिव्र रुपमा फैलिएको हो ।
रोग तिव्र रुपमा फैलिएपछि किसानका पशु चौपायालाई उपचार गर्न जताततै दौडधुप गर्नुपर्ने भएकाले जहाँ पुग्यो त्यहीँका किसानहरुलाई खोप कसरी लगाउने, कुन भागमा लगाउने लगायतका विषयमा प्रयोगात्मक रुपमा उपचार गर्न सिकाई रहेको त्रिवेणी गााउँपालिका पशु सेवा शाखाका प्राविधिक सहायक ठानबहादुर ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिरामी पशु चौपायालाई पटक पटक र ठाउँठाउँमा उपचार गर्नुपर्ने भएकाले आफुले नभ्याइने भएपछि औषधी उपचार गर्न किसानहरुलाई सिकाउने गरिएको हो । पहिलो चरणमा आफु पुग्ने र त्यसपछि किसानहरुलाई उपचार गर्ने सबै प्रक्रिया सिकाइरहेको ओलीले बताउनुभयो । फोन मार्फत पनि विरामी पशुको समस्या बुझने गरेको र ३, ४ दिन पछि पुनः पुगेर विरामी पशुको चेकजाँच गर्ने गरिएको छ ।
लम्पी स्किन रोगबाट पालिकामा सबै भन्दा बढी प्रभावित ७ नम्बर वडाको लाछिकोट टोल परेकोे छ । रोग लागेका पशुहरुमा अत्याधिक ज्वरो आउने, शरीर सुनिने, खाना नखाने, शरीरमा फोका उठ्ने र घाउ हुने लक्ष्यण देखा पर्ने गरेको प्राविधिक सहायक ओलीले बताउनुभयो । लम्पी स्किनबाट अहिलेसम्म २ गाई, १ भैँसी र ४३ वटा गोरु गरेर ४६ वटा पशु मरिसकेको पशु सेवा शाखा त्रिवेणीले जनाएको छ ।