Kakhara सबैको खबर सम्पूर्ण खबर
एक वर्षमा के गर्यो चौरजहारीले ? (एक वर्षे प्रगतीको पूर्णपाठ सहित)

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले १ वर्षको प्रगति सार्वजनिक गरेको छ । शुक्रबार जनप्रतिनिधिका एक वर्ष र सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरी नगरपालिकाले नयाँ जनप्रतिनिधि आएको १ वर्षको अवधिमा भएका कामहरुको विवरण सार्वजनिक गरेको हो । 

नगर प्रमुख पुष्प वादीले १ वर्षको प्रगति, नगरपालिकाको समग्र लक्ष, प्राथमकिता, अवसर र चुनौतिका बारेमा जानकारी गराउनुभएको थियो । नगरपालिकाले १ वर्षको अवधिमा नगरका १ हजार २ सय ८४ घर परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । आँफैले बीमा गर्न नसक्ने आर्थिक अवस्था कमजोर भएका परिवारलाई यो सेवा दिइएको नगर प्रमुख वादीले बताउनुभयो । 

उहाँका अनुसार ५ युनिटसम्मको खानेपानी निःशुल्क गरिएको छ । नगरभरका सुत्केरीलाई एम्बुलेन्स सेवा पनि निःशुल्क गरिएको नगर प्रमुख वादीको भनाई छ । कक्षा ८ सम्म ‘हाम्रो चौरजहारी’ नामक स्थानीय पाठ्यक्रम पनि नगरपालिकाले लागु गरेको छ । नयाँ जनप्रतिनिधि आएपछि नगरपालिकाले ४ सय आमालाई पोषणका लागि च्याउको वीउ वितरण गरिएको जनाएको छ । 

IMG_95661685782039.JPG

कृषि उपजको दीर्घकालिन भण्डारणका लागि चिस्यान केन्द्र पनि स्थापना गरिएको छ । वडा नम्बर ३ को स्यालखोलामा चिस्यान केन्द्र स्थापना गरिएको नगर प्रमुख वादीले प्रस्तुत गरेको नगरको एक वर्षे प्रगति प्रतिवेदनमा उल्लेख छ । १ वर्षमा वालविकास देखि कक्षा ५ सम्मका ५ हजार ३ सय ८५ जना विद्यार्थीलाई निःशुल्क रुपमा अभ्यास पुस्तिका र विद्यालय पोसाक पनि वितरण गरिएको छ । 

आइसीटी ल्याब स्थापना, ७ वटा विद्यालयमा २६ वटा पक्की कक्षा कोठा निर्माण, ८० जना नयाँ उद्यमी सृजना, निःशुल्क स्वास्थ्य शिविर, उन्नत वीउ वितरण, पशु खोप, उपचार शिविर संचालन, रिम्ना देखि बाँसखोलासम्म र्याफटिङको सफल परीक्षण, प्याराग्लाइडिङ परीक्षण गरिएको पनि प्रगति विवरणमा उल्लेख छ । त्यस्तै एक वर्षको विचमा नगर न्यायिक समितिमा ४४ वटा उजुरी परेकामा ८ वटा किनारा लागेको र ३६ वटा प्रक्रियामा रहेको बताइएको छ । 

नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा विभिन्न राजनीतिक दल, आम सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका सहभागीहरुले दीर्घकालिन रुपमा प्रभाव पार्ने खालका काम गर्न नगरपालिकालाई सुझाव दिएका थिए । साथै साझा रुपमा प्रस्तुत हुन सहभागीहरुले जनप्रतिनिधिलाई आग्रह गरेका थिए । कार्यक्रमको सहजिकरण निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले गर्नुभएको थियो ।

हेर्नुहाेस पूर्ण पाठ:

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update