एक गर्भवतीको हेली लिफ्टद्धारा उद्दार गरिएको छ । रुकुम पूर्व सिस्ने गाउँपालिका ५, कि २० वर्षीया विपना विकको हेली लिफ्ट मार्फत उद्दार गरी सुर्खेत लगिएको छ । रुकुम पश्चिमको सल्ले विमान स्थलबाट नेपाली सेनाको हेलिकोप्टर मार्फत विकलाई कर्णाली प्रदेश अस्पताल लगिएको हो । जिल्ला अस्पतालले थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजानुपर्ने भनेपछि जिल्ला प्रशासन कार्यालयको पहलमा हेलिकोप्टर आएको थियो ।
जिल्ला अस्पतालका डाक्टर राजकुमार भुजेलले जिल्ला अस्पतालमा आधारभुत उपचार गरी विरामीलाई सुर्खेत पठाइएको जानकारी दिनुभयो । बच्चा भन्दा पहिल्यै साल निस्केपछि अत्याधिक रक्तश्राव भएको थियो । जिल्लामा उपलब्ध उपचार गरेपछि बाहिर पठाइएको डाक्टर भुजेलको भनाई छ ।
अहिले विरामीको अवस्था सामान्य रहेको बताइएको छ । आइतबार विहान सवा ८ बजे उनिहरु रुकुम पूर्वबाट अस्पताल पुगेका थिए । घरको आर्थिक अवस्था कमजोरी भएकी विकलाई जिल्ला अस्पतालले सहयोग समेत गरेको छ । खान, बस्न तथा अन्य व्यवस्थापनमा सहयोग होस् भनेर जिल्ला अस्पतालले नगद दश हजार रुपैयाँ सहयोग गरेको हो ।