रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १३ र १४ का स्थानीयले स्वास्थ्य शिविर मार्फत सेवा लिएका छन् । दुई वडावासीका लागि शुक्रबार र आज दुई दिन २ ठाउँमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । जसबाट दुई वडावासीले गाउँमै विभिन्न स्वास्थ्य सेवा लिएका हुन् ।
मानव विकास तथा सामुदायिक सेवा, चौरजहारी अस्पतालको आर्थिक र प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको थियो । शिविरको पहल र व्यवस्थापन १३ र १४ नम्बर वडाले गरेका थिए । दुई ठाउँमा गरेर ९ सय ५० जनाले सेवा लिएका छन् । जसमा महिला ५ सय ९४ र पुरुष ३ सय ५६ जना रहेको मुसिकोट १३ का वडाध्यक्ष खलबहादुर खड्काले जानकारी दिनुभयो ।
हिजो शुक्रबार पहिलो दिन वडा नम्बर १३ र १४ को सिमानामा रहेको प्रभात मावि दोपाईमा शिविर संचालन गरिएको थियो । जसबाट दुई वडाका ५ सय ६१ जनाले सेवा लिएका थिए । जसमा महिला ३ सय ६० र पुरुष २ सय १ जना रहेका थिए । आज १३ नम्बर वडाको नेपाल राष्ट्रिय आधारभूत विद्यालय हाइवाङमा शिविर संचालन गरिएको वडाध्यक्ष खड्काले बताउनुभयो ।
आज कुल ३ सय ८९ जनाले सेवा लिएका छन् । जसमा महिला २ सय ३४ जना र पुरुष १ सय ५५ जना रहेका थिए । आजको शिविरबाट १ सय ४० जनाले भिडियो एक्सरे र १ सय ७ जनाले रक्त समुह पहिचान सेवा लिएको वडाध्यक्ष खड्काले बताउनुभयो । शिविरमा सबै खाले स्वास्थ्य सेवा प्रदान गरिएको शिविरमा खटिएका स्वास्थ्यकर्मीले जनाएका छन् ।
शिविरमा चौरजहारी अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर निर्मुद शुब्बाको नेतृत्वमा १८ जनाको स्वास्थ्यकर्मीको टोली परिचालन भएको थियो । गाउँमै स्वास्थ्य सेवा र औषधि उपलब्ध गराउने गरी शिविरका लागि अस्पताल समक्ष पहल गरिएको वडाध्यक्ष खड्काले बताउनुभयो ।