रुकुम पश्चिममा आँखा अप्रेशन सेन्टर स्थापना भएको छ । नेपाल नेत्र ज्योति संघको पहल तथा राप्ती आँखा अस्पताल दाङको सहयोगमा मुसिकोट नगरपालिका–१, सल्लेमा सर्जिकल सेन्टर स्थापना गरिएको हो । आँखा उपचार केन्द्र सल्लेलाई नै आँखा सर्जिकल सेन्टरको रुपमा विकास गरिएको आँखा उपचार केन्द्र सल्लेका इञ्चार्ज धनबहादुर केसीेले जानकारी दिनुभयो ।
जिल्लाको आवश्यकता र सेवाग्राहीको मागका आधारमा सर्जिकल सेन्टरको सुरुवात गरिएको उहाँको भनाई छ । आज जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमले सर्जिकल सेन्टरको उद्घाटन गर्नुभयो । अप्रेशन सेन्टर स्थापनासंगै अव आँखामा हुने विभिन्न समस्याको अप्रेशन जिल्लामै हुने छ ।
मोतियाविन्दु, जलविन्दु, आर्सनली बन्द भएको, मासु पलाएको लगायत समस्याको अप्रेशन हुने इञ्चार्ज केसीले बताउनुभयो । उहाँका अनुसार ३० लाख ५० हजार लगानीमा आँखा सर्जिकल सेन्टर स्थापना भएको हो । आर्थिक वर्ष २०७७/०७८ मा कर्णाली प्रदेश अन्तर्गत स्वास्थ्य सेवा कार्यालयको १० लाख, मुसिकोट नगरपालिकाको ५ लाख र राप्ती आँखा अस्पताल दाङको २ लाख गरि १७ लाखमा अप्रेटिङ माइक्रोस्कोप खरिद गरिएको थियो ।
त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा मुसिकोट नगरपालिकाको ३ लाख, बाँफिकोट गाउँपालिकाको ३ लाख, कर्णाली प्रदेश अन्तर्गत स्वास्थ्य सेवा कार्यालयको ५ लाख, त्रिवेणी गाउँपालिकाको २ लाख ५० हजार गरि १३ लाख ५० हजारमा जेनेरेटर, स्लेट ल्याम्प, अप्रेशन गर्ने ओडि सेट, एसी लगायत खरिद गरिएको थियो ।
आँखा सर्जिकल सेन्टरका लागि थप उपकरण तथा अन्य व्यवस्थापन गर्न केही समय लाग्ने भएकाले असार पछि सर्जिकल सेवाको सुरुवात गरिने बताइएको छ । जिल्लामा २०६८ सालमा आँखा उपचार केन्द्रको स्थापना भएको थियो । त्यसको १२ वर्षपछि आँखा सर्जिकल सेन्टर स्थापना भएको हो । अव आँखा अप्रेशनको लागि दाङ, भैरहवा लगायतका ठाउँमा जानुपर्ने जिल्लावासीको बाध्यता अन्त्य हुने भएको छ ।
कार्यक्रमको अवसरमा सर्जिकल सेन्टर स्थापना र आँखा उपचार केन्द्रलाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई सम्मान पनि गरिएको थियो । २० व्यक्ति तथा संस्थालाई सम्मान गरिएको नेपाल नेत्र ज्योती संघ रुकुम पश्चिमका सभापति शिवराम खत्रीले जानकारी दिनुभयो ।