रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ मा खानेपानीको हाहाकार भएको छ । ३ नम्बर वडाको खाराखाल, गरायलागाउँ, अध्याचौर, जुम्लेपोखरी र मसरी टोलमा १५ दिन देखि खानेपानीको हाहाकार भएको हो । उक्त टोलका करिव ४ सय घर परिवार १५ दिन यता खानेपानीको समस्या भोग्दै आएका छन् ।
वडा नम्बर ३ र ६ को सिमानामा पर्ने नाउली खोलाबाट आउने पानी नियमित नहुँदा स्थानीयले करिव ३ घण्टा समय लगाएर वडा नम्बर ३ कै मुलपानी मुहानबाट पानीको जाहोे गर्दै आइरहको स्थानीय बालकुमार नकालले जानकारी दिनुभयो । उहाँका अनुसार नाउली खोलाबाट आउने पानी जेठमासको सयममा मुहान सुक्दै जाने भएकाले नियमित आउन छाडेको हो ।
पानी आएपनि २०/२५ मिनेट आउने र त्यसपछि सुक्ने भएकाले मान्छे लगायत पशु चौपायाका लागि पानी जोहो गर्न निकै गाह्रो भएको उहाँको भनाई छ । खानेपानीको समस्या अहिलेको समस्या नभएर विगत ५ वर्ष देखिको रहेको स्थानीय छविलाल बिष्टले बताउनुभयो । असार देखि चैतसम्म पानीको अभाव त्यति धेरै नभएपनि वैशाख र जेठ महिनामा पानीको हाहाकार हुने गरेको छ ।
विगत ५ वर्ष देखि तुसारे–अध्याचौर लिफ्टिङ खानेपानी आयोजनाको पटक पटक सयम थप्दा पनि निर्माण सम्पन्न हुन नसक्दा खानेपानीको समस्या हल हुन नसकेको बिष्टको भनाई छ । आयोजना निर्माणमा ठेकदारको लापर्वाही र स्थानीय जनप्रतिनिधले चासो नदिदा वडामा खानेपानीको समस्या चर्को बन्दै गएको स्थानीयको भनाई छ ।