
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा घरवास व्यवस्थापन तथा होम स्टे तालिम सुरु भएको छ । ३ दिनसम्म सञ्चालन हुने तालिम वडा नम्बर ३ को कमैदेमा आजबाट सुरु भएको हो । तालिममा ४ र ५ नम्बर वडाबाट २÷२ जना र ३ नम्बर वडाका १२ जना गरेर १६ जनाको सहभागिता रहेको गाउँपालिका प्रवक्ता पहलसिंह घर्तीले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्थानीय स्तरमा उत्पादन हुने वस्तुलाई खाना, नास्ता तथा विभिन्न परिकार बनाउन सिकाउने उदेश्यले तालिमको आयोजना गरिएको हो । तालिममा सीप सिकेर व्यवसाय गर्न चाहने स्थानीय महिला, पुरुषहरुको सहभागिता रहेको छ । मौराखारा लेकको नजिक कमैदे टोल भएकाले मौराखारा लेकलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पनि घरवास व्यवस्थापन तथा हामस्टे तालिमले महत्वपूर्ण भुमिका खेल्ने गाउँपालिकाले विश्वास लिएको छ ।
तालिम पश्चात कमैदेमा पाहुना घर तथा होम स्टे दर्ता गरेर सञ्चालन गर्ने उदेश्य रहेकाले आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन सहज हुने गाउँपालिको अपेक्षा छ । तालिम सकिए लगतै सहभागीहरुलाई थप सीप विकास र अनुभवका लागि देशका नमुना होम स्टेमा भ्रमण गर्न लगिने छ ।
३ दिनसम्म सञ्चालन हुने तालिममा स्थानीय वस्तुको परिकार बनाउन सिकाइनुका साथै घरवासको सरसफाई गर्न पनि सिकाईने प्रशिक्षक मनोजकुमार बस्नेतले बताउनुभयो । संस्कृति तथा पर्यटन विकास केन्द्र रुकुम पश्चिमले आयोजना गरेको तालिमलाई आर्थिक सहयोग गाउँपालिकाले गरेको छ । तालिम २५ गते सम्पन्न हुने बताइएको छ ।
तालिम पछि कार्यविधि अनुसार सामुदायिक होम स्टे दर्ता गरेर सञ्चालन गर्न चाहनेलाई गाउँपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्ने जनाएको छ ।