रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना तिर्सिङमा फेला परेको शंकास्पद वस्तु बम रहेको प्रहरीले जनाएको छ । आज दिउँसो स्थानीयले बम जस्तो देखिने शंकास्पद वस्तु फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेको थियो ।
नेपाली सेनाको चण्डी दल गण सल्लेको टोलीले बम डिस्पोज गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्राईले जानकारी दिनुभयो । कुल १२ वटा बम रहेको र उक्त सबै बम सेनाको टोलीले डिस्पोज गरेको उहाँको भनाई छ । ११ वटा रेडबुलको बट्टा र एउटा रबरको ग्यालेन गरी १२ वटा बम रहेको डिएसपी भट्राइले बताउनुभयो ।
उक्त बम केही वर्ष अगाडी नै राखिएको जस्तो देखिए पनि एकीन भन्न सकिने अवस्था भने नभएको प्रहरीले जनाएको छ । आज दिउँसो गोरु चराउन गएका स्थानीयले केतुकीको बोट मुनि लुकाएर राखेको अवस्थामा बम फेला पारेका थिए । यसअघि घाँसले तोपिएर नदेखिएको भएपनि अहिले घाँस सुकेका कारण बम देखिएको स्थानीय टेकबहादुर बिकले बताउनुभयो ।