रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्वर १ का जनप्रतिनिधिले एक वर्षको अवधिमा ६० दिन श्रमदान गरेका छन् । गत वर्ष जेठ देखि श्रमदानको अभियान थालेका वडाका जनप्रतिनिधिले वडामा रहेका विभिन्न योजनामा श्रमदान गरेका हुन् ।
श्रमदान मार्फत वडामा रहेका सडक मर्मत, नाला निर्माण, पहिरो हटाउने, वाल लगाउने काम गरिएको छ । त्यस्तै वडामा रहेका गोरेटा बाटो निर्माण, मर्मत तथा अन्य विभिन्न संरचनाहरुको मर्मत तथा निर्माण गरिएको वडा अध्यक्ष सुन्दर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार श्रमदानबाट वडामा हुने विकास निर्माणको काममा सहयोग गरेको छ ।
श्रमदान मार्फत सडक, गारेटाबाटाहरु मर्मत हुने भए पछि त्यहाँ खर्च हुने रकमले अन्य काम भएको वडा अध्यक्ष ओलीले बताउनुभयो । जनप्रतिनिधिले गर्ने श्रमदानमा वडाबासीहरुको पनि सहभागिता हुने गरेको छ । विभिन्न समयमा जनप्रतिनिधिले श्रमदान गर्दै गर्दा वडाबासी पनि श्रमदान गर्न आउने गरेको वडा अध्यक्ष ओलीले बताउनुभयो ।
वडाबासी र जनप्रतिनिधिको गरेर २ सय १३ दिन श्रमदान भएको छ । जनप्रतिनिधिलाई महिनामा एक दिन श्रमदान गर्नु पर्ने अनिवार्य भए पनि वडाका स्थानीयलाई भने अनिवार्य नरहेको वडा कार्यालयले जनाएको छ । एक दिन श्रमदानमा सहभागी नहुने जनप्रतिनिधिले ६ सय रुपैयाँ वडालाई बुझाउनु पर्ने हुन्छ ।
त्यो रकम पनि सामाजिक काममा खर्च हुने गरेको वडा अध्यक्ष ओलीको भनाई छ । पछिल्ला दिनहरुमा श्रमदान गर्ने परिपाटी हराउदै गएपछि वडामा श्रमदानको अवधारणा ल्याइएको वडा कार्यालयको भनाई छ । श्रमदान प्रति वडाबासी पनि सक्रिय देखिन थालेको वडाध्यक्ष ओलीले बताउनुभयो ।