Kakhara सबैको खबर सम्पूर्ण खबर
मुरु स्वास्थ्य संस्थामा प्रसुति भवन बन्ने
सम्झाैता पश्चात ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ७ को मुरु स्वास्थ्य संस्थामा नयाँ प्रसुति भवन बन्ने भएको छ । अहिले स्वास्थ्य संस्थामा रहेको जीर्ण भवनबाट प्रसुति सेवा प्रवाह भइरहेको छ । अव भने नयाँ प्रसुति भवन निर्माण हुने भएको हो । 

गाउँपालिका र वान हर्ट वल्र्ड वाइडको साझेदारी संस्था रुकुमेली समाज विकास केन्द्रद्धारा संचालित मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको सुदृढीकरण परियोजनाको साझेदारीमा स्वास्थ्य संस्थामा नयाँ प्रसुति भवन बन्ने भएको हो । भवन निर्माणका लागि आज सम्झौता समेत भएको छ । 

गाउँपालिका अध्यक्ष गणेशकुमार केसी र रुकुमेली समाज विकास केन्द्रका सचिव केशनकुमार क्षेत्रियालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । भवन निर्माणका लागि कुल ५६ लाख ८१ हजार ६ सय ७३ रुपैयाँ रहेको छ । जसमा गाउँपालिकाको २० लाख रहेको छ भने बाँकी ३६ लाख ८१ हजार ६ सय ७३ वान हर्टको हो । 

भवन निर्माणको काम आगामी आर्थिक वर्ष देखि सुरु भई सोही वर्ष सकिने वान हर्ट वल्र्ड वाइडका जिल्ला संयोजक लोकमणि गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माणका लागि गाउँपालिकाले असारमा टेण्डर आह्वान गर्ने छ । भवन निर्माण २०८१ को बैशाख पहिलो हप्तासम्म सकिएर सेवा प्रवाह सुरु हुने गिरीले बताउनुभयो । 

IMG_98141686229477.jpg
सम्झाैता पत्रमा हस्ताक्षर गर्दै गाउँपालिका अध्यक्ष गणेशकुमार केसी ।

हाल जीर्ण भवनबाट सेवा दिइरहेको र सेवाग्राहीको संख्या ठूलो भएका कारण मुरु स्वास्थ्य संस्था भवनका लागि छनोटमा परेको उहाँको भनाई छ । गाउँपालिका र परियोजनाको टिमले अनुगमन गर्दा वार्षिक १ सय भन्दा बढी महिलाले प्रसुति सेवा लिइरहेको र हालको भवन निकै जीर्ण र जोखिमपूर्ण देखिएपछि छनोट गरिएको उहाँले बताउनुभयो । 

भवन निर्माण भएमा सहज, भरपर्दो र गुणस्तरीय प्रसुति सेवा प्रवाह हुने विश्वास गरिएको गिरीले बताउनुभयो । त्यस्तै वान हर्टको मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको सुदृढीकरण परियोजना मार्फत जिल्ला अस्पतालमा प्रसति कुरुवा घर निर्माण भइरहेको छ । यस परियोजनाले स्थानीय तहसंगको साझेदारीमा काम गरिरहेको छ । 

परियोजना संयोजक गिरीका अनुसार परियोजनाले स्वास्थ्यकर्मीको क्षमता विकास, वर्थिङ सेन्टरको स्तरोन्नति, आवश्यकताका आधारमा निर्माण तथा पुनर्निर्माण र अत्यावश्यक औजार सहयोग लगायतका काम गर्दै आइरहेको छ ।

आज त्रिवेणी गाउँपालिका कार्यालय खारनेटामै पुगेर सम्झौता गरिएको हो । सम्झौताका लागि वान हर्ट वल्र्ड वाइडका जिल्ला संयोजक लोकमणि गिरी, रुकुमेली समाज विकास केन्द्रका सचिव केशनकुमार क्षेत्रियाल, कार्यकारी निर्देशक नरेन्द्र केसी लगायतको टोली गाउँपालिका पुगेको थियो ।
 

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update