रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक ‘हाम्रो त्रिवेणी’का लागि वडा वडाबाट स्रोत सामग्री संकलन गरेको छ । शिक्षा युवा तथा खेलकुद शाखा जेठ २२ गते देखि स्रोत सामग्री संकलन सुरु गरेको थियो । आजसम्म सबै वडाबाट स्रोत सामग्री संकलन भइसकेको शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ ।
शिक्षक मनलाल ओलीको संयोजकमा निर्माण भएको ५ सदस्यीय स्रोत सामग्री संकलन समितिले पालिकाका १० वटै वडाबाट स्रोत सामग्री तथा सुझाव संकलन गरेको हो । २०७८ सालमा निर्माण भएको स्थानीय पाठ्यक्रमले निर्देशन गरे बमोजिम पाठ्यपुस्तक निर्माण गर्न वडा वडाबाट स्रोत सामग्री संकलन गरिएको शिक्षा युवा तथा खेदकुद शाखाको भनाई छ ।
समितिले जेठ २२ गते वडा नम्बर ९ र १०, २३ गते वडा नम्बर ७ र ८, २४ गते ३ र ६, २५ गते ४ र ५ र आज वडा नम्बर १ र २ मा स्रोत सामग्री तथा सुझाव संकलन गरेको हो । स्थानीय स्रोत सामग्री तथा सुझाव संकलन सकिएकाले जेठ ३० गते भित्र उक्त सामग्री शिक्षा युवा तथा खेलकुद शाखामा बुझाईने स्थानीय पाठ्यपुस्तक स्रोत सामग्री संकलन समितिका सदस्य कुवेर ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार समितिले पालिका भित्रका १० वटै वडाको भौगोलिक अवस्था, वडाको जनसंख्या, वडामा पाईने जिवजन्तु, वनस्पती, वातावरण तथा बोट विरुवा, हावापनी, खोलानाला, प्राकृतिक वस्तु, धार्मिक तथा साँस्कृतिक सम्पदाको विवरण संकलन गरेको छ ।
त्यस्तै पर्यटकीय क्षेत्रको अवस्था, खेल तथा योगा, धर्म, संस्कृति रितिरीवाज लगायतका सुझाव पनि संकलन गरिएको समितिले जनाएको छ । समितिले संकलन गरेको सामग्रीलाई अध्यन गरेर पाठ्यपुस्तकमा समेटिने गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ । स्थानीय पाठ्यपुस्तक कक्षा १ देखि कक्षा ८ सम्म लागु हुने गाउँपालिकाले जनाएको छ ।