Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम उद्योग वाणिज्य संघमा २ जना सदस्य मनोनित, अधिवेशनको खर्च सार्वजनिक 

रुकुम उद्योग वाणिज्य संघले २ जना सदस्य मनोनित गरेको छ । शुक्रबार बसेको संघको कार्यकारी समितिको पूर्ण बैठकले २ जना सदस्य मनोनित गरेको हो । संस्थाको विधान २०५२ (संशोधन सहित) बमोजिम निर्वाचन संचालन नियमावली २०८० बमोजिम खुला तर्फ २ जना सदस्य मनोनित गरेको अध्यक्ष पलबहादुर खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार ओम ट्रेडर्स एण्ड सप्लायर्स मुसिकोट १ का संचालक जनक बिक र एस एण्ड एस सप्लायर्स मुसिकोट १ का संचालक दुर्गा बुढाथोकीलाई सदस्यमा मनोनित गरिएको हो । त्यस्तै संघले कानुनी सल्लाहकारमा गणेश हमाल र प्रेस सल्लाहकारमा मनिष खड्कालाई नियुक्त गरेको अध्यक्ष खड्काले बताउनुभयो । 

बैठकले संस्थाको १४ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनमा भएको खर्च सर्वसम्मत अनुमोदन पनि गरेको छ । जसअनुसार कुल खर्च १ लाख १६ हजार ३ सय १५ रुपैयाँ रहेको महासचिव अनिल बुढाले बताउनुभयो । खर्च र आम्दानीको शिर्षक पनि सार्वजनिक गरिएको छ । 

महासचिव बुढाका अनुसार खर्च अन्तर्गत निर्वाचन समिति खर्च २५ हजार, निर्वाचन कार्यक्रमका लागि स्टेशनरी, प्रमाण–पत्र छपाई खर्च ३० हजार २ सय ४५, साधारण सभाका लागि चिया, नास्ता, अतिथि सत्कार खर्च ६१ हजार ७० रुपैयाँ रहेको छ । बाँकी रकम अन्यमा खर्च भएको बताइएको छ । ७५ हजार बचत रहेको संघले जनाएको छ । 

संघलाई विभिन्न व्यक्तिहरुले सहयोग गरेका थिए । ९४ हजार रुपैयाँ निर्वाचन कार्यक्रम वापत उठेको थियो भने अन्य रकम विभिन्न व्यक्तिहरुले सहयोग गरेको महासचिव बुढाको भनाई छ । यसका साथै कार्यकारी समितिका अवका बैठकहरु विभिन्न बजार क्षेत्रहरुमा सार्वजनिक सहभागीता सहित गर्ने बैठकले निर्णय गरेको छ ।

पहिलो बैठक झुल्नेटा बजारमा गर्ने र यसको जिम्मेवारी संस्थाका उपाध्यक्ष दयाराम केसीलाई दिने समेत बैठकले निर्णय गरेको छ । जेठ ५ र ६ गते मुसिकोटमा भएको १४ औं साधारण सभा तथा १२ औं अधिवेशनबाट पलबहादुर खड्काको अध्यक्षतामा रुकुम उद्योग वाणिज्य संघको नयाँ नेतृत्व सर्वसम्मत निर्वाचित भएको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update