Kakhara सबैको खबर सम्पूर्ण खबर
भूमेमा ५२ र १० किलोमिटरको गुरिल्ला ट्रेल रेस असार २ मा हुने
पहिलाे संस्करणकाे पुरुष तर्फ विजेता रुकुम पश्चिमका दुर्गाराज बुढा । फाइल फाेटाे ।

पाँचौं संस्करणको गुरिल्ला अल्ट्रा ट्रेल रेस असार २ गते हुने भएको छ । रुकुम पूर्वको भूमे गाउँपालिकामा हरेक वर्ष आयोजना हुने रेस यो वर्ष दुई वटा दुरिमा संचालन हुन लागेको छ । ५२ किलोमिटर र १० किलोमिटर गरी दुई वटा दुरिमा रेस संचालन हुन लागेको आयोजक भूमे गाउँपालिकाले जनाएको छ । 

दुरी अनुसार पुरस्कार राशि फरक फरक रहेको छ भने महिला र पुरुषको पुरस्कार समान रहेको छ । ५२ किलोमिटर तर्फ विजेता पुरस्कार ५० हजार, उपविजेता ३० हजार, तेस्रोलाई १५ हजार र चौंथो स्थान हाँसिल गर्नेलाई ८ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।  

Gurilla Altra (1)1686475753.jpg
पहिलाे संस्करणकाे महिला तर्फ विजेता प्युठानकी हुमी बुढा । फाइल फाेटाे ।

पाँचौं देखि दशौं स्थानसम्म हाँसिल गर्नेलाई समान ५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यस्तै १० किलोमिटर तर्फ विजेता पुरस्कार १० हजार, उपविजेता ७ हजार, तेस्रोलाई ५ हजार, चौंथो हुनेलाई २ हजार ५ सय तथा पाँचौं देखि दशौं स्थानसम्म प्राप्त गर्नेलाई समान १ हजार पुरस्कारको व्यवस्था छ । 

दुवै दौड महतबाट सुरु हुने छन् भने खाबाङ बगरमा पुगेर सकिने छन् । ५२ किलोमिटर रेस महतबाट सुरु भई नैमाकेंग–लाबाङ–हुल्वाङ–थोर्बाङ–गलच्योल–घमचिन–धंगनै–जलजला–चलाबाङ–थवाङ–जुर्बाङ–पोर्पोछेडा–मारिङ–खाल्पाते–खाबनङ हुँदै खाबाङ बगर पुगेर सकिने प्रतियोगिता व्यवस्थापक सुनिल रोका मगरले जानकारी दिनुभयो । 

Gurilla Altra (2)1686475760.jpg
रेस संचालन हुने मार्गकाे नक्सा ।

त्यस्तै १० किलोमिटर रेस पनि महतबाटै सुरु भई स्यबाङपो–सानो लेक–कोइचा–खाबाङटिला–मारिङ–खालपाटे हुँदै खाबाङ बगरमा पुगेर समाप्त हुने उहाँको भनाई छ । युद्ध पर्यटनको विकासका लागि भन्दै विगत ५ वर्षदेखि भूमे गाउँपालिकामा गुरिल्ला ट्रेल रेस आयोजना हुँदै आइरहेको छ । 

तत्कालिन माओवादी लडाकुहरुले प्रयोग गरेको बाटो र ऐतिहासिक थबाङ, जलजला लगायतका ठाउँलाई जोड्ने गरी पहिचान गरिएको मार्गमा यो दौड दौडाइने गरिएको छ । रेसमा प्रतिस्पर्धाका लागि देशका विभिन्न ठाउँबाट धावकहरु आउने गरेका छन् ।

Gurilla Altra (4)1686475760.jpg
फाइल फाेटाे ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update