Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी ६ ले सार्वजनिक गर्यो १ वर्षको प्रगति, झण्डै डेढ करोड बजेट खर्च 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ६ ले एक वर्षे प्रगति सार्वजनिक गरेको छ । सार्वजनिक सुनुवाईको आयोजना गरी वडाले नयाँ कार्यकालका लागि जनप्रतिनिधि निर्वाचित भएर आएदेखि एक वर्षको अवधिमा भएका कामहरुको विवरण सार्वजनिक गरेको हो । 

एक वर्षमा वडामा विभिन्न ३३ वटा योजना संचालन भएको वडाध्यक्ष पहलसिंह घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार वडामा संघीय सरकार, प्रदेश सकार र गाउँपालिका सरकारबाट बजेटको व्यवस्थापन भएको छ । एक वर्षको अवधिमा  १ करोड ५१ लाख ३७ हजार ६ सय रुपैयाँ खर्च भएको छ । 

वडाले एक वर्षको मुख्य उपलब्धीका रुपमा वडा स्तरबाटै सामाजिक सुरक्षा भत्ता वितरण, सुत्केरी तथा गर्भवती महिलाहरुलाई शुद्ध खानेपानीका लागि फिल्टर वितरण, ७ जना गर्भवती तथा २८ जना १ वर्षमुनीका वच्चाका आमाहरुलाई पोषण स्वरुप कुखुरा वितरण, खेर गइरहेको स्थानीय कच्चा पदार्थ अल्लो प्रशोधन सम्बन्धी १७ जना महिलाहरुलाई उद्यमशिलता तालिम प्रदान, वडामा आएका मुद्धामा मेलमिलाप, हरेक दुई दुई महिनामा स्वास्थ्यकर्मी टोली सहित जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच, आँखा शिविर संचालनलाई उल्लेख गरेको छ । 

त्यस्तै १ वर्षको विचमा पाठेघरको मुखको क्यान्सर भएका महिलाहरुको उपचार, पशु चौपायाको उपचार, गर्भवती महिलाहरुलाई भिडिओ एक्सरे तथा उपचार, ३ जना अगुवा कृषकलाई अन्तर जिल्ला भ्रमण, २ जना अगुवा कृषकलाई प्रोत्साहन स्वरुप पुरस्कार सहित सम्मान, सहकारी मार्फत वडामा सस्तो पसल संचालन, क्षेत्रीय अवधारणाको सडक स्तरोन्नतिमा तिव्रता, केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तारका लागि ताकेता, संघ र प्रदेश सरकारबाट प्राप्त योजनाको कार्यान्वयनका लागि पहल गरिएको वडाध्यक्ष घर्तिले बताउनुभयो । 

वडाले विकास निर्माणमा देखिएका समस्याहरु पनि सार्वजनिक गरेको छ । भौगोलिक कठिनताका कारण विकास निर्माण लगायतका कामहरु सञ्चालन गर्न कठिनाई हुनु, संघ र प्रदेशबाट बजेट सन्तुलित हिसावले प्राप्त नहुनु, स्थानीय उपभोक्ताहरुले समयमै काम सम्पन्न गर्न नसक्नु, यातायात सेवा नियमित रुपमा सुचारु नहुनु जस्ता मुख्य समस्या रहेको वडाध्यक्ष घर्तीले बताउनुभयो । 

जनताका आवश्यकता र अपेक्षा असिमित र स्रोत साधन सिमित हुँदा जनगुनासा व्यवस्थापन गर्न नसकिएको वडा कार्यालयको भनाई छ ।

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update