रुकुम पूर्वको भूमे गाउँपालिकामा साँस्कृतिक महोत्सव हुने भएको छ । भूमि पुजाको अवसरमा गाउँपालिकाले चौंथो साँस्कृतिक महोत्सव सञ्चालन गर्ने भएको हो । गाउँपालिकाको केन्द्र खाबाङ बगरमा असार २ गते देखि ४ गते साँस्कृतिक महोत्सव गर्न लागेको गाउँपालिकाले जानकारी दिएको छ ।
भूमे नाच, ढोङ्गे/नचारु नाच, मयूर नाच, डिग्रे/पैंसेरु नाच, फाक नाचका साथै अन्य विभिन्न नाचको प्रतिस्पर्धा हुने छ । भूमे नाचमा प्रथमले एक लाख, दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार र सान्त्वना हुनेले २० हजार प्राप्त गर्ने गाउँपालिकाले जनाएको छ ।
यस्तै ढोङ्गे/नचारु नाँचको प्रथमले ७५, दोस्रोले ५०, तेस्रोले ३० हजार र सान्त्वनाले १५ हजार रुपैयाँ पाउने गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले जानकारी दिनुभयो । यस्तै मयूर नाँचमा प्रथम हुनेले ५० हजार, दोस्रोले ३० हजार, तेस्रोले २० हजार र सान्त्वना हुनेले १५ हजार पुरस्कार पाउने श्रेष्ठको भनाई छ ।
यस्तै महोत्सवमा हुने डिग्रे/पैंसेरु नाच, झोरेल्ली नाच, फाक नाच, सिंगारु नाच र लस्के गित प्रतियोगिताको लागि पुरस्कार राशि समान राखिएको महोत्सव व्यवस्थापन समितिका सदस्य चन्द्र रसाइलीले बताउनुभयो । उहाँका अनुसार प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमशः ३० हजार, २० हजार, १० हजार, र पाँच हजार रुपैयाँ वितरण गरिने छ ।
स्थानीय नाचकाे संरक्षण र प्रवर्धनका लागि गाउँपालिकाले हरेक वर्ष स्थानीय नाचकाे प्रतिस्पर्धा प्रतिस्पर्धा गराउने गरी साँस्कृतिक महाेत्सव आयाेजना गरिरहेकाे छ ।