Kakhara सबैको खबर सम्पूर्ण खबर
जनकल्याण मावि जिपुको विद्यालय भवन भाडामा, के भन्छ विद्यालय ? 

५७ औ जन्मोत्सवको अवसरमा २०७७ फाल्गुन १२ गते कर्णाली प्रदेश सभासदस्य रातो कामीले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ स्थित जनकल्याण मावी को ६ कोठे पक्की भवनको शिलन्यास गर्नुभयो । शिलन्यास भएको केहि दिन पछि भवन निर्माणको काम सुरु भयो । कर्णाली प्रदेश सरकारको २० लाख बजेटले बिम सहितका २१ ओटा पिल्लर ठड्याइयो ।

आर्थिक २०७७/०७८ मा संसद विकास कोषको २० लाख रकमबाट भवनको पहिलो ढलानसम्म सम्पन्न भयो । वितेको आर्थिक वर्ष २०७८/०७९ मा समृद्ध कर्णाली कार्यक्रमको ४० लाख बजेटबाट दोस्रो तला निर्माण भएको छ । दुई तलामा १२ ओटा कोठा निर्माण भएका छन् । प्राविधिक स्टामेट अनुसार माथिल्लो तला विद्यालयले प्रयोग गर्ने र भुँइ तलाको ६ ओटा कोठा व्यापारीक परियोजनका लागि निर्माण गरिएको विद्यालयको दाबी छ । अहिले भुँइ तलाका तीन ओटा कोठा व्यापारिक प्रयोजनका लागि भाडामा लगाइएको छ । 

भवनको पूर्व तिरको कोठामा बस्नेत किनारा तथा कपडा पसल राखिएको छ । भने अन्य दुई कोठा पनि पसल संचालनको तयारी छ । बाँकी तीन ओटा कोठा खाली छन् । उक्त कोठाहरु पनि भाडामा दिने विद्यालयले योजना बनाएको छ । विद्यालय व्यवस्थापन समितिले दिएको जानकारी अनुसार कोठाको लागि भाडा दर भने फरक फरक निर्धारण गरिएको छ । झ्याल भएका कोठाको लागि दुई हजार २ सय र झ्याल नभएका कोठाको लागि दुई हजार भाडा निर्धारण गरिएको छ ।

उक्त कोठा सडकको नजिक भएकोले पठनपाठनमा अबरोध हुने भएको हुँदा विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयको निर्णय अनुसार सटरहरु भाडामा दिइएको विद्यालयले जानकारी दिएको छ । भाडाबाट आउने रकमबाट विद्यालयलाई अतिरिक्त आम्दानी हुने समितिको भनाई छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष मैसर बुढा क्षेत्रीले विद्यालयको सटर भाडामा दिने निर्णय संरचना निर्माण हुनु पूर्व नै भएको बताउनुहुन्छ । 

सटर भाडामा दिने गरी नै भवनको स्टामेट तयार गरिएको उहाँको भनाई छ । भवनको भुँइतला विद्यालयको भूगोल भन्दा तल र सडक नजिक भएको हुँदा भाडामा दिने निर्णय गरिएको उहाँले बताउनुभयो ।

२ नम्बर वडा अध्यक्ष प्रकाश खत्रीले सटर भाडामा दिएको विषय नीतिगत रुपमा गलत नभएको बताउनुभयो । भुँइ तलाको सटर व्यापार प्रयोजनका लागि नै निर्माण गरेको हुँदा उक्त सटरहरु भाडाको लागि उपयुक्त हुने अध्यक्ष खत्रीको भनाई छ । पठनपानमा अपरोध नहुने गरि व्यापारीलाई सटर भाडामा दिन मिल्ने उहाँको तर्क छ । तर मदिरा पसल र होटल संचालन भने गर्न नदिइने उहाँले बताउनुभयो । 

विद्यालयका सटरलाई भाडामा लगाउने विषयमाथि विभिन्न टिका टिप्पनीहरु भइरहेका छन् । विद्यालयलाई भाडामा लगाउनु गलत भएको भन्दै केहीले यो निर्णयलाई सच्याउनुपर्ने माग समेत गरिरहेका छन् । 

विद्यालयमा हाल बाल विकास देखि कक्षा १२ सम्म पाँच सय ६४ जना छात्र, छात्राहरु अध्यनरत रहेको प्रधानध्यापक झुपिलाल पौडेलले बताउनुभयो । विद्यालयमा प्रयाप्त कक्षा कोठा भएको र कक्षा कोठाको अभाव नरहेको उहाँको भनाई छ । उहाँका अनुसार विद्यालयमा बाली विज्ञान विषयको पढाई हुनुका साथै ल्याब, पुस्तकालय, क्यान्टिन, कम्प्युटर ल्याब, डिजिटल हाजिरी, सिसी र डिजिटल बोर्ड पनि विद्यालयमा उपलब्ध रहेको प्रअ पौडेलले बताउनुभयो । 

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update