Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबीसकोट नगरपालिकाको एक्सनः गुणस्तरहीन सडकमा डाेजर, सिँचाई कुलो भत्काइदै (भिडिओ सहित)
गुणस्तरहिन सडकमा नगरकाे डाेजर ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले गुणस्तरहीन संरचनामा एक्सन लिन सुरु गरेको छ । पटक पटक ताकेता गर्दा पनि निर्माण व्यवसायीहरुले अटेरी गरेपछि नगर प्रमख रबि केसी गुणस्तरहीन संरचना भत्काउन आँफै खटिनुभएको छ । सोमबार राडी–दाँजे सडकको एक सय मिटर वाल, नाली लगायतका संरचनामा डोजर चलेको छ । नाली, वाल लगायतका संरचना बनेको एक साता नहुँदै चर्किएपछि काममा गम्भिर लापरवाही भएको निष्कर्ष सहित डोजर चलाएर भत्काइएको नगर प्रमुख केसीले बताउनुभयो ।

नगरपालिकाका प्राविधिक र पूर्वाधार विकास कार्यालय सुर्खेतका प्राविधिकले संयुक्त रुपमा गरेको जाँचबाट निर्माण सामग्रीको सन्तुलन नमिलेको, बालुवामा माटो मिसिएको, गुणस्तरीय सामग्रीको प्रयोग नभएको र कमसल काम भएको देखिएपछि डोजर चलाइएको उहाँको भनाई छ । यो सडक स्तरोन्नतीको काम गौरीशंकर हिमालयन निर्माण सेवाले गरिरहेको छ ।

गुणस्तरीय काम नभएको व्यापक जनगुनासो आएको, बाहिरबाट हेर्दा पनि गुणस्तरीय काम नदेखिएकोले निर्माण व्यवसायीलाई गुणस्तरीयतामा ध्यान दिन बारम्बार ताकेता गर्दा पनि नटेरेपछि सडक भत्काउनु परेको नगर प्रमुख केसीले बताउनुभयो । १४ मिटर चौडा यस सडकको स्तरोन्नतिका लागि १४ करोड बजेट रहेको नगरपालिकाले जनाएको छ । त्यस्तै नगरपालिकाले आज बगर–रामघाट नहरको झण्डै २ सय मिटर भत्काउदै छ ।

अनुगमनका क्रममा नहर निर्माणमा गम्भिर लापरवाही देखिएको नगर प्रमुख केसीले बताउनुभयो । उहाँका अनुसार गिट्टी हाल्नुपर्ने ठाउँमा ठूला ठुला ढुंगा हालेको पाइएको छ । प्राविधिकको जाँचबाट जति ठाउँमा कमजोर काम भएको पाइन्छ त्यो सबै भत्काउने सहमति बनिसकेको केसीले बताउनुभयो । कुल ७ सय मिटर लामो नहर मध्ये करिब २ सय मिटर नहर भत्काउनुपर्ने देखिएको छ । यो नहरको कुल बजेट ६२ लाख रहेको छ भने कामको जिम्मा सुभारम्भ कन्ट्रक्सनले पाएको छ ।

सोमबार नगर प्रमुखको अध्यक्षतामा पूर्वाधार कार्यालयका प्राविधिक, नगरका प्राविधिक, निर्माण व्यवसायीको सहभागितामा बसेको बैठकले कमजोर नहर भत्काउने सहमति भएको थियो । यतिबेला नगर प्रमुख नेतृत्वको टोली अनुगमनमा छ । अनुगमनका क्रममा गुणस्तरहिन काम भएको पाइएमा कसैलाई पनि नछाड्ने नगर प्रमुख केसीको भनाई छ ।   
 

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update