Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीमा ब्लड बैंक संचालनको तयारी पुरा, औपचारिक सुरुवात हुन बाँकी 

रुकुम पश्चिममै पहिलो पटक चौरजहारीमा ब्लड बैंक स्थापना हुँदै छ । जिल्लामा रगत अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भनेर रगतको सहज व्यवस्थापनका लागि चौरजहारी नगरपालिका वडा नम्बर १ मा अवस्थित चौरजहारी अस्पताल नजिकै ब्लड बैंक संचालन हुँदै छ । 

ब्लड बैंकको सबै तयारी पुरा भएको र अव औपचारिक रुपमा सेवा सुचारु हुन मात्र बाँकी रहेको छ । नेपाल रेडक्रस सोसाइटी चौरजहारी शाखाको पहल र चाैरजहारी नगरपालिकाकाे लगानीमा ब्लड बैंक संचालन हुन लागेको हो । चौरजहारीमा २ वर्ष अघि देखि नै ब्लड बैंक स्थापनाको तयारी थालिएको थियो । 

तर विचमा अलपत्र परेको थियो । अलपत्र परेको ब्लड बैंक निर्माणको योजनाले हाल आएर सार्थकता पाउन लागेको रेडक्रस चौरहारी शाखाका कोषाध्यक्ष गोपाल लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार ब्लड बैंकका लागि भवन निर्माण तथा उपकरण व्यवस्थापन लगायतका सबै काम पुरा भएका छन् । 

ब्लड बैंकका लागि हालसम्म ४० लाख बजेट खर्च भएको लामिछानेले बताउनुभयो । भवन निर्माणमा २८ लाख खर्च भएको छ भने बाँकी रकम उपकरण व्यवस्थापनमा खर्च भएको उहाँको भनाई छ । कुल बजेटमा १ लाख १५ हजारमा जनसहभागिता रहेको छ भने बाँकी सबै रकम चौरजहारी नगरपालिकाको हो । 

भवन निर्माण सहित वेड, फर्निचर, कार्यालय व्यवस्थापन, सोलार, घेरबार लगायतका काम सकिएको नेपाल रेडक्रस सोसाइटी चौरजहारी शाखाले जनाएको छ । औपचारिक उद्घाटनका लागि नगरपालिकालाई आग्रह गरिएको शाखाले जनाएको छ । ब्लड बैंक स्थापना भएमा जिल्लामा रगत अभाव हट्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update