रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका-११ उपल्लोसेरा जिल्लाकै सबैभन्दा धेरै भेडा पाल्ने गाउँको रुपमा प्रचलित छ । भेडापालन र राडीपाखी बुनाई यहाँको मुख्य र पुख्र्यौली पेशा मात्रै नभएर जीविकापार्जन लागि मुख्य स्रोतको रूपमा रहेको छ ।
यहाँका मानिसहरूले भेडापालन पेशा पुर्खा देखि गर्दै आएपनि भेडा विभिन्न प्रकोपबाट मरेमा क्षतिपूर्ति कहाँबाट पाइन्छ जानकारी छैनन् । तर, गाउँपालिकाको सहकार्यमा युनाइटेड मिशन टु नेपाल रुकुम पूर्व क्लष्टर (युएमएन)को आर्थिक सहयोग र नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल) रुकुमद्वारा सञ्चालित स्थानीय परम्पपरागत ज्ञानको स्तरोउन्नतिको लागि रूपान्तरण परियोजना मार्फत पहिलो चरणमा भेडाको बिमा गरिएको परियोजनाका फिल्ड सुरपभाइजर श्रीकुमार बिएमले जानकारी दिनुभयो ।
परियोजना मार्फत पहिलो पटक पुथाउत्तरगंगा-११ उपल्लोसेराको तीन भेडा पालक कृषकको २ सय ६४ भेडालाई युनाइटेड अजोड बिमा कम्पनीको प्राविधिक सहयोगमा मिक नेपालद्वारा भेडाको बिमा गरिएको बिएमले बताउनुभयो । भेडाको बिमाले किसानहरूको भेडामा हुने जोखिमबाट हुने नोक्सानी किसानले निक्सानी व्यहोर्नु नपर्ने भएकोले भेडा पालक कृषक उत्साहित छन् । प्रति भेडाको एक सय ५० रुपियाँको दरमा बिमा गरिएको छ । उक्त बिमा गर्दा लागेको रुपियाँ मिक नेपालले बिमा कम्पनीलाई तिरिदिएको छ ।