Kakhara सबैको खबर सम्पूर्ण खबर
भूमे र सिस्नेको आफ्नै भवन, पुथाउत्तरगङ्गाको बन्न बाँकी  
भूमे र सिस्ने गाउँपालिकाले निर्माण गरी सेवा प्रवाह गरिराखेका आफ्नै भवन । तस्बिरः कखरा ।

रुकुम पूर्वका तीन गाउँपालिका रहेको यस जिल्लामा भूमे र सिस्ने गाउँपालिकाले आफ्नै भवन निर्माण गरेका छन् भने पुथाउत्तरगङ्गा गाउँपालिकाको बन्न बाँकी रहेको छ । यी तीन गाउँपालिका मध्ये भूमे गाउँपलिकाले सबै भन्दा पहिले नै आफ्नो भवन निर्माण गरी सेवा प्रवाह गरेको हो भने सिस्नेले यही सोमबार देखि आफ्नोबाट सेवा प्रवाह सुरु गरेको छ । 


भूमे गाउँपालिकाले वडा नम्बर २ खाबाङ बगरमा २०७५ असोज ३० गते देखि आफ्नै कार्यालय भवनबाट सेवा प्रवाह सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले बताउनुभयो । खाबाङवासीले गाउँपालिकाकालाई निःशुल्क २६ रोपनी जग्गा उपलब्ध गराउने मन्जुरीनामा गरेका थिए । स्थानीयले गाउँपालिकासँगको मन्जुरीनामा गरे अनुसार करिब १३ रोपनी जग्गा गाउँपालिकालाई पास गरेका छन् । पास दिन बाँकी जग्गाधनी गाउँ भन्दा बाहिर भएकाले ढिलाई भइरहेको श्रेष्ठको भनाइ रहेको छ । गाउँपालिकाको आफ्नै कार्यालय भवनबाट सेवा प्रवाहले सेवा प्राधान्य र सेवाग्राही दुबैलाई सहज भइरहेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताउनुभयो । 


यसैगरी सिस्ने गाउँपालिकाले पनि आर्थिक वर्ष २०७७/०७८ र ०७८/०७९ गरी दुई आर्थिक वर्षमा आफ्नो प्रशासनिक भवन निर्माण गरी सेवा प्रवाह सुरु गरेको छ । तीन तल्लाको ४८ कोठाको सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गरिराखिएको गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो । रेग्मीले भन्नुभयो, “गाउँपालिकाको आफ्नो भवन नहुँदा सेवा प्रवाहमा असहज हुने गरेको थियो । मापदण्ड अनुसारको आफ्नो भवनबाट सेवा प्रवाह हुँदा अहिले सहज भएको छ ।” 


यस अघिका जनप्रतिनिधिको कार्यकालले सुरुवाती गर्नु भएका योजनालाई आधार बनाइ गाउँपालिकाको विकासका काम भइरहेको अध्यक्ष रेग्मीले बताउनुभयो । अध्यक्ष रेग्मीले भन्नुयो, “गाउँपालिकाभरमा हाल सम्म तयार भएका भौतिक पूर्वाधारको विकासलाई स्तरोउन्नति गर्दै जाने र अपूुरा कामलाई पूणर्ता दिनुका साथै गाउँपालिकावासीलाई आ-आफ्नो पेशा व्यवसायमा आत्मनिर्भरको गाउँपालिका निर्माण हाम्रो लक्ष्य रहेको छ ।”


जिल्लाको दुई गाउँपालिकाले आफ्नो कार्यालयको भवन निर्माण गरी सेवा प्रवाह गरिराख्दा पुथाउत्तरगङ्गा गाउँपालिकाले साविकको तकसेरा गाविस र महिला भवनबाट सेवा प्रवाह गरिराखेको छ । वडा नम्बर १० तक र वडा नम्बर ११ तल्लोसेराले गाउँपालिकालाई निःशुल्क जग्गा दिने मन्जुरीनामा अनुसार गाउँपालिकालाई जग्गा दिने स्थानीयले ढिलाइ गरेकाले भवन निर्माणमा ढिलो भएको गाउँपालिकाका अध्यक्ष पुनिराज घर्ती मगरले बताउनुभयो । 


हाल सम्म गाउँपालिकालाई ६ रोपनी जग्गा मात्र पास दिएका छन् । गाउँपालिकालाई आवश्यक पर्ने जग्गा स्थानीयले पास दिएमा तकमा प्रशासनिक कार्यालय निर्माण गरिने छ भने तल्लोसेरामा कृषि, पशु, खाद्य र स्वास्थ्य कार्यालयको भवन निर्माण गरिने अध्यक्ष घर्ती मगरले जानकारी दिनुभयो । यद्यपी हाल सम्म गाउँपालिकाको नाममा आएको जग्गामा प्रशासनिक भवन निर्माणका लागि टेन्डर आह्वान भइसकेको अध्यक्ष घर्ती मगरले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update