Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिम प्रहरीको अफिम फडानी अभियानः १ सय ५ रोपनी क्षेत्रफलको अफिम नष्ट 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले अफिम फडानी अभियान थालनी गरेकाे छ । जिल्लाका विभिन्न ठाउँमा लगाइएको अफिम खेती प्रहरीले फडानी गरिरहेको छ । अहिलेसम्म झण्डै १ सय ५ रोपनी क्षेत्रफलमा गरिएको अफिम खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

जिल्लाका विभिन्न ठाउँमा गरी १ सय ४ दशमलव ५६ रोपनी क्षेत्रफलमा लगाइएको अबैध अफिम नष्ट गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो । विभिन्न समयमा गरी जिल्लाका आठबीसकोट १ उमाखोला, आठबीसकोट २ पहाडा, स्याला, आठबीसकोट ३ पाटागाउँ, कालोजुरा, आठबीसकोट १३ हाम्फामा लगाइएको अफिम नष्ट गरिएको उहाँको भनाई छ । 

त्यस्तै सानोभेरी ७ फुक्रु, मुसिकोट १० ठुलो पोखर लगायतका क्षेत्रमा यसवर्ष लगाइएको अफिम नष्ट गरिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार अफिम फडानीको लागी  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले अभियान नै संचालन गरी नष्ट गरिरहेको छ । 

अबैध अफिम खेती गर्ने व्यक्तिहरुको खोज तलासका बिषयमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी खड्काले बताउनुभयो । साथै अफिम खेती गर्ने व्यक्तिलाई बढीमा ३ बर्ष देखी १० बर्ष सम्म कैद र २५ हजार देखी २ लाख रुपैयासम्म जरिवाना हुने व्यवस्था भएपनि अफिम खेती कम हुन सकेको छैन् । 

जिल्लामा प्रहरीले हरेक वर्ष ठूलो मात्रामा अफिम खेति फडानी अभियान संचालन गर्ने गरेको छ । तर अफिम खेती गर्ने व्यक्तिलाई कारबाही भएको भने पाइदैन् । खेती गर्ने व्यक्तिको पहिचान हुन नसक्दा खेती गर्ने व्यक्तिलाई कारबाही हुन मुश्किल भइरहेको प्रहरीको भनाई छ । 

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update