Kakhara सबैको खबर सम्पूर्ण खबर
सल्लेमा कानको निःशुल्क अप्रेशन शिविर जारी 

रुकुम मुसिकोट नगरपालिका वडा नम्बर १ सल्लेमा कानको निःशुल्क अप्रेशन शिविर जारी छ । जेठ २९ गतेदेखि सुरु भएको शिविर असार २ गतेसम्म चल्ने छ । कानको जाली फुटेकाको अप्रेशनका लागि जिल्ला अस्पतालमा १७ वर्षपछि कानको अप्रेशन शिविर आयोजना गरिएको हो । 

नेपाल नेत्रज्योती संघ, एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग, बि.एन. (ब्रिटेन नेपाल) सिद्धार्थ अस्पताल नेपालगञ्ज बाँकेको प्राविधिक सहयोग, मुसिकोट नगरपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा नेपाल नेत्रज्योती संघ जिल्ला शाखा रुकुम पश्चिम तथा आँखा उपचार केन्द्रले शिविर आयोजना गरेको हो । शिविरमा कानको जाली प्वाल परेका व्यक्तिहरुको निःशुल्क अप्रेशन भइरहेको छ। जिल्ला अस्पतालको अप्रेशन कक्षमा अप्रेशन चलिरहेको अस्पतालका विशेषज्ञ डा. केहलबिक्रम जिसीले बताउनुभयो ।

जेठ ८ गते चौरजहारीको सहिद स्मृति नगर अस्पताल, ९ गते सेवा केन्द्र तथा जेठ ११ र १२ गते आँखा उपचार केन्द्र सल्लेमा संचालन भएको कान स्वास्थ्य सेवा शिविरबाट पहिचान भएका व्यक्तिहरुले अप्रेशन सेवा लिइरहेकाे आँखा उपचार केन्द्र सल्लेका इन्चार्ज धनबहादुर केसीले जानकारी दिनुभयो । जसक्रममा कानको अप्रेशन गर्नुपर्ने १ सय ४१ जना व्यक्ति पत्ता लागेकाे । 

आँखा उपचार केन्द्रका इन्चार्ज केसीका अनुसार अहिलेसम्म शिविरबाट २५ जनाले सेवा लिएका छन् । शिविरमा सिनियर कन्सल्टेन्ट हेड एण्ड नेक सर्जन डा. रवि स्वार र डा. शिव रेग्मी सहित १७ जनाको स्वास्थ्यकर्मीको टोली खटिएको छ । जिल्लामा आँखा अप्रेशन शिविर बारम्बार आयोजना हुने गरेपनि कानको अप्रेशन भने वर्षौं पछि आयोजना गरिएको हो ।

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update