रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका स्वास्थ्य शाखाले सञ्चालन गरेको निःशुल्क ग्रामिण अल्ट्रासाउण्ड शिविरबाट ५२ जना गर्भवतीले सेवा लिएका छन् । २८ गतेबाट सञ्चालन भएको शिविरबाट बुधबार अन्तिम दिनसम्म ४ वटा वडाबाट ५२ जना गर्भवती महिलाले सेवा लिएका हुन् । २८ गतेबाट सञ्चालन गरिएको शिविरबाट ५२ जना गर्भवती महिलाको भिडिओ एक्सरे संगै अन्य २ सय १५ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएको त्रिवेणी गाउँपालिका स्वास्थ्य शाखाका सह संयोजक बिरबहादुर डाँगीले जानकारी दिनुभयो ।
उहाँका अनुसार ग्रामिण अल्ट्रासाउण्ड शिविर २८ गते वडा नम्बर ९ को चौतारा आधारभुत स्वास्थ्य सेवा केन्द्रमा सञ्चालन गरिएको थियो । त्यस्तै २९ गते वडा नम्बर ४ को खारा स्वास्थ्य चौकी खुम्चेरी, ३० गते वडा नम्बर १ को रुघाँ आधारभुत स्वास्थ्य चौकी र बुधबार अन्तिम दिन वडा नम्बर ७ को मुरु स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको थियो ।
वडा नम्बर २, ३, ५, ६, ८ र १० मा भने यस अघि नै शिविर सञ्चालन गरिसकेको स्वास्थ्य शाखाले जनाएको छ । विशेषगरी गाउँपालिकाको केन्द्र भन्दा टाढाका गाउँबस्तीका गर्भवती महिलालाई लक्षित गरेर वडाका आधारभुत स्वास्थ्य सेवा केन्द्रमा शिविर सञ्चालन गरिएको स्वास्थ्य सह संयोजक डाँगीले बताउनुभयो ।
भिडिओ एक्सरे मार्फत चेकजाँच गरिएका गर्भवती महिलाहरुमा कुनै जटिल समस्या भने नदेखिएको त्रिवेणी गाउँपालिका अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा. छविलाल नेपालीले जानकारी दिनुभयो । शिविरमा डा.नेपाली, सिनियर अनमी दीक्षा पुन लगायएको टोलीले सेवा प्रदान गरेको थियो । ग्रामिण शिविर सञ्चालनको लागि गाउँपालिकाले १ लाख ५० हजार रकम विनियोजन गरेको थियो ।