रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ८ मा पर्ने झुल्नेटा–भेरीपोखरा–नुवाकोटडाँडा सडक खण्ड स्तरोन्नतिको काम सुरु भएको छ । कर्णाली प्रदेश सरकारको १५ लाख बजेट खर्चेर उक्त सडक खण्डको स्तरोन्नति सुरु भएको हो । यो कामको जिम्मा स्थानीय निर्माण समितिले लिएको छ ।
सडकको प्राविधिक स्टमेट तयार भइसकेपछि बुधबारबाट काम सुुरु गरिएको निर्माण समितिका सचिव चुडामणि बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण समितिले सडक सिधा, मोड सुधार र सडक चौडा बनाउने काम गर्ने छ । भेरीपोखरामा सडक उकालो भएकाले सवारी साधनलाई आवतजावतमा समस्या हुने गरेको छ ।
सडक स्तरोन्नति भएमा अन्य तथा वर्षातको समयमा पनि सवारी साधन आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ । यो सडक खण्ड स्तरोन्नति भएमा त्रिवेणी गाउँपालिका, सानीभेरी गाउँपालिका, चौरजहारी नगरपालिका र मुसीकोट नगरपालिकाका १२ र १३ नम्बर वडा संगैै सल्यान जिल्लाको दार्मा गाउँपालिकाका नागरिकलाई समेत सहज हुने बताइएको छ ।
उक्त सडक खण्डमा अहिले साना फोर्स गाडि लगायत अन्य यातायातका साधनहरु सञ्चालन भइरहेका छन् । समितिले १२ सय मिटर सडक खण्ड स्तरोन्नतिको काम गर्ने छ । उक्त सडकको असार २० गतेसम्म गरिसक्ने निर्माण समितिका सचिव बस्नेतले बताउनुभयो ।
गत जेठ १३ गते त्रिवेणी गाउँपालिका वडा नम्बर ९ नुवाकोटडाँडामा बसेको अन्तरपालिका समन्वय बैठकले उक्त सडक खण्ड स्तरोन्नतिको लागि कर्णाली प्रदेश सरकारलाई बजेट माग गर्ने निर्यण गरेको थियो । निर्णय गरेको झण्डै २ हप्ताको समयमा बजेट प्राप्त भएर काम सुरु भएको छ ।
अन्तरपालिका बैठक त्रिवेणी गाउँपालिका, सानीभेरी गाउँपालिका, चौरजहारी नगरपालिका र सल्यानको दार्मा गाउँपालिकाका विचमा भएको थियो । उक्त बैठकले साझा समस्या मिलेर हल गर्ने प्रतिवद्धदता सहित विभिन्न निर्णय गरेको थियो ।