Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटका विभिन्न ठाउँबाट १४ नाल भरुवा बन्दुक बरामद 
बेवारिसे अवस्थामा फेला परेका बन्दुक ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले मुसिकोटका विभिन्न ठाउँबाट १४ नाल बेवारिसे अबस्थामा रहेका भरुवा बन्दुक बरामद गरेको छ । विभिन्न समय र ठाउँबाट उक्त बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ । 

मुसिकोट नगरपालिका वडा नं. ८ को किटेनीको जंगलबाट ४ थान, वडा नं. ८ कै झिमखोलाबाट २ थान र ओखरधारा जंगलको ओडारबाट ८ थान गरी बेवारिसे अवस्थामा रहेका १४ थान भरुवा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार विभिन्न समयमा गरी स्थानीयले सिकार खेल्ने प्रयोजनको लागि जंगलमै लुकाई छिपाई राखेको अवस्थामा बन्दुक बरामद गरिएको हो । बन्दुक बरामद गरेपनि उक्त बन्दुक कसले राख्यो भन्ने बारेमा भने प्रहरीले पत्ता लगाउन सकेको छैन् । भरुवा बन्दुक तथा अन्य हातहतियार राख्ने व्यक्तिहरुको खोजतलास भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले बताउनुभयो । 

इजाजत पत्र प्राप्त नगरी हातहतियार राख्ने व्यक्तिलाई जोखिमको गम्भिरता हेरी १० बर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था भएपनि जिल्लामा अवैध रुपमा बन्दुक राख्ने क्रम रोकिएको छैन् । बारम्बार बेवारिसे बन्दुक फेला परिरहेका छन् । 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update