Kakhara सबैको खबर सम्पूर्ण खबर
भूमे पर्व मनाइयो 
फाइल फाेटाे ।

रुकुम पूर्व, पश्चिम, रोल्पा लगायतका मगर बाहुल्य जिल्लामा आज भूमे पर्व मनाइएको छ । प्रकृति पुजक मगर समुदायले हरेक वर्ष भूमे पर्व मनाउने गरेका छन् । ठाउँ अनुसार आ–आफ्नो संस्कार अनुसार भूमे पर्व मनाउने गरिएको छ । केही ठाउँमा जेठ मसान्तमा भूमे पर्व मनाउने गरिन्छ भने केही ठाउँमा असार १ गते मनाइन्छ । 

परापूर्व कालदेखि नै जेठा राजा तर्फकाले जेठ मसान्त र कान्छा राजा तर्फकाले असार १ गते भूमे पर्व मनाउने गरेको भूमे गाउँपालिकाका पूर्व अध्यक्ष रामसुर बुढाले बताउनुभयो । भूमे पर्वको मुख्य दिन बलपुजा गर्ने र भूमे नाच नाच्ने गरिन्छ । बलपुजाको अघिल्लो दिन लेकमा फूल टिप्न जाने गरिन्छ । 

गाउँभरीका युवा युवति देखि बृद्धबृद्धा र बालबालिका समेत मगर भेषभुषामा सजिएर बाजागाजा सहित पायक पर्ने लेकमा गई रंगीविरंगी फूल टिप्ने र रातभरी लेकमै बस्ने परम्परा छ । उनीहरु भोलीपल्ट फर्किन्छन भने गाउँको एक टोली विधि पूर्वक बली लिएर थानसम्म जाने गर्दछ । 

बली लिएर गएको र फूल टिपेर फर्किएको टोली विच बाटोमा भेटिई बली चढाएर गाउँ फर्किने चलन रहेको बुढाले बताउनुभयो । प्रकृति पुजकका रुपमा रहेका मगरहरुले यो पर्वमा धर्तीको पूजा गर्छन । प्रकृतिलाई खुसी पारे कुनैपनि खालको विपत्ति नआउने विश्वासका साथ धर्तीको पुजा गर्ने गरिएको भूमे गाउँपालिकाका पूर्व अध्यक्ष बुढाको भनाई रहेको छ । 

यो पुजा गरेमा घर्तीमा अनर्थ नहुने, बाढी पहिरो नजाने तथा अन्य प्राकृतिक विपत्ति नआउने विश्वास मगर समुदायमा छ । साथै यो पर्वलाई हर्षबढाई, खुसीयाली, पारिवारिक मिलनका रुपमा समेत लिने गरिएको छ । मगरहरुले जेठ मसान्त र असार १ गते जमिन खनजोत गर्ने काम पनि गर्दैनन् । 

वर्षभरीमा दुई दिन भएपनि धर्तीलाई आराम दिनुपर्छ भनेर दुई दिन जमिन खन्ने, खोर्सिने, खनजोत जस्ता कुनै पनि काम नहुने बुढाको भनाई छ । उहाँका अनुसार पहिला पहिला बलपुजाका दिन गाउँभरीको कट्वाल चुन्ने, बनमा पशुचौपाया चरिचरणका लागि वस्तुभाउको दस्तुर तोक्ने र नयाँ घरपरिवारलाई मान्यता दिने चलन थियो । 

बली चढाएको एक चोक्टो मासु मुख्य परिवारबाट छुट्टीएर बनेको घरका सदस्यले खाएमा उक्त घरले नयाँ परिवारको मान्यता पाउने चलन छ । तर हाल यि चलन लोपजस्तै बनेको बुढा बताउनुहुन्छ । भूमे पर्वको अर्को आकर्षण हो भुम्या नाच । यो नाच लहरै लागेर तालमा ताल मिलाएर नाचिन्छ । मगर वस्तीहरुमा करिब १ महिना नै यो नाच नाचिन्छ । 

यो पनि ठाउँ अनुसार फरक फरक पाइन्छ । पर्वको मुख्य दिनभन्दा अघि नाचिने नाचलाई रिहसलको रुपमा लिइन्छ । फूल टिप्न जाँदा, बली चढाउदा र बलपुजाको दिन खुला रुपमा नाच्नुपर्ने भएकोले लामो समय रिहसल गर्ने चलन रहेको मगर अगुवाहरुको भनाई छ । 

रुकुम पश्चिममा पनि भूमे पर्व मनाइएको छ । विभिन्न ठाउँबाट सदरमुकाम मुसिकोटमा केन्द्रित भएका मगरहरुले परम्परा अनुसार नै भूमे पर्व मनाएका हुन । 

भुमे पर्वको अवसरमा आज लुम्बिनी प्रदेश सरकारले रुकुम पूर्व, रोल्पा र दाङ जिल्लामा सार्वजनिक बिदा दिएको छ । त्यस्तै स्थानीय तहहरुले पनि आफ्नो पालिकामा पर्वको अवसरमा बिदा दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update