युनाइटेड मिसन टु नेपाल रुकुम पूर्व क्लष्टर (युएमएन)सँग साझेदारी मार्फत सञ्चालित परियोजनाले लाभान्वित समुदाय सशक्त हुँदै गएको पाइएको छ । युएमएनको आर्थिक सहयोगमा नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल) रुकुम र जनजागरण मञ्च रुकुम मार्फत विभिन्न परियोजना सञ्चालित रहेका छन् । यस आर्थिक वर्षमा सञ्चालित विभिन्न परियोजनाको कार्यन्वयनको अवस्थाबारे जिल्ला सल्लाहकार समितिले बिहिबार र शुक्रबार अनुगमन गरेको ।
परियोजनाको अनुमगनको क्रममा परियोजनाबाट लाभान्वित भएका स्थानीयसँग जिल्ला सल्लाहकार समितिले अन्तरक्रिया समेत गरेको छ । अन्तरक्रिय कार्यक्रममा स्थानीयले संस्थाबाट सञ्चालित परियोजनाले आफूहरु सशक्तिकरण हुनमा सहयोग पुर्याइराखेको बताएका छन् । बिहीबार भूमे गाउँपालिका-८ र ९ मा सञ्चालित विभिन्न परियोजनाको अनुगमन गरिएको थियो भने शुक्रबार पुथाउत्तरगंगा गाउँपालिकामा सञ्चालित परियोजनाको अनुगमन गरिएको युएमएन रुकुम पूर्वका टिम लिडर शिवप्रसाद अधिकारीले बताउनुभयो ।
‘बिहीबार भूमे-८ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र कोर्जामा युएमएनको आर्थिक सहयोगमा जनजागरण मञ्च मार्फत निर्माण गरिएको अपाङ्गमैत्री शैचालय र स्वास्थ्य केन्द्रमा जडान गरिएको सोलार हस्तान्तरण गरियो’ अधिकारीले भन्नुभयो -‘साथै सोही वडाकै सरस्वती मावि सिमखोलामा निर्माण गरिएको बालमैत्री धारा र अपाङ्गमैत्री शैचालय हस्तान्तरण गरिएको छ ।’
पूर्वाधार निर्माणको हस्तान्तरणसँगै मानसिक स्वास्थ्य र अपाङ्गता भएका व्यक्तिहरुको उपचार गरिएकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो । बिहीबार नै भूमे-९ स्वास्थ्य चौकी चुनबाङमा यसअघि स्वास्थ्य सामग्री प्रदान गरिएको सामग्रीको प्रयोगको अवस्थाबारे जानकारी र मानसिक स्वास्थ्य तथा अपाङ्गता व्यक्तिको उपचार पछिको अवस्थाबारे लाभान्वित व्यक्तिसँग अन्तरक्रिया गरिएको अधिकारीले जानकारी दिनुभयो ।
यसैगरी शुक्रबार पुथाउत्तरगंगा गाउँपालिका-११ माथिल्लो सेरा स्थित राडीपाखी प्रवद्र्धन कृषक समूहसँग अन्तरक्रिया र भेडाको उन काट्ने मेसिन, उन मसिनो बनाउने लगायतको उन प्रशोधनका आधुनिक उपकरण युएमएनको आर्थिक सहयोगमा र मिक नेपालद्वारा खरिद गरिएको करिब १८ लाख रुपैयाँ मूल्य परेको मेसिन कृषि समूहलाई हस्तान्तरण गरिएको छ । त्यस लगत्तै युएमएनको आर्थिक सहयोगमा मिक नेपालद्वारा सञ्चालित सक्षम परियोजनाका किशोरीसँग अन्तरक्रिया गरिएको छ ।
अनुगमनको समापन कार्यक्रममा बोल्दै जिल्ला कार्यक्रम सल्लाहकार समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले संस्थाद्वारा सञ्चालित परियोजनाले शिक्षा, स्वास्थ्य, नागरिकको आयआर्जन र सचेतनामा ठूलो योगदान पुर्याइराखेको बताउनुभयो । सरकारसँगको सहकार्यमा संस्थाले सञ्चालन गरेका परियोजनाले जिल्लाको समृद्धिमा इट्टा थप भइरहेको प्रमुख श्रेष्ठको भनाइ रहेको छ । संस्थाले बालबालिका, स्वास्थ्य र जीविकोपार्जनका उल्लेखनीय लगानी गरिराखेको श्रेष्ठले बताउनुभयो । जिल्लाको विकास क्रम तिब्र रुपमा अघि बढिरहेको श्रेष्ठले दावी गर्नुभयो । ‘यद्यपी विकास भनेको कहिले पनि पूरा हुँदैनन् समय अनुसार विकास गर्दै जानुपर्छ’ श्रेष्ठले भन्नुभयो -‘सरकार, संघ, संस्था तथा स्थानीयले विकास निर्माणका काममा आआफ्नो ठाउँबाट आफ्नो जिम्मेवारी पूरा गर्दै जानु पर्छ । तब मात्र विकासले सार्थक पाउँदै जाने छ ।’
संस्थाले गरेको कामलाई प्रशंसा गर्दै स्थानीयले आगामी वर्षमा पनि थप योजनाको माग समेत गरेका छन् । अनुगमनमा जिल्ला कार्यक्रम सल्लाहकार समितिमा आवद्ध जनप्रतिनिधि, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, परियोजना कार्यन्वयन संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत स्थानीय लाभान्वित समुदायको उपस्थिति रहेको थियो ।