Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला अस्पतालमा ५३ जनाको कानको अप्रेशन 

रुकुम पश्चिमकाे मुसिकोट नगरपालिका वडा नम्बर १ सल्लेमा कानको निःशुल्क अप्रेशन शिविर सकिएको छ । जिल्ला अस्पतालमा जेठ २९ गतेदेखि सुरु भएको शिविर आज सकिएको हो । कानको जाली फुटेकाको अप्रेशनका लागि जिल्ला अस्पतालमा १७ वर्षपछि कानको अप्रेशन शिविर आयोजना गरिएको हो । शिविरमा ५३ जनाको कानको अप्रेशन भएको छ ।  

नेपाल नेत्रज्योती संघ, एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग, बि.एन. (ब्रिटेन नेपाल) सामुदायिक कान उपचार सेवा सिद्धार्थ अस्पताल नेपालगञ्ज बाँकेको प्राविधिक सहयोग, मुसिकोट नगरपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा नेपाल नेत्रज्योती संघ जिल्ला शाखा रुकुम पश्चिम तथा आँखा उपचार केन्द्रले शिविर आयोजना गरेको हो । 

शिविरमा कानको जाली प्वाल परेका व्यक्तिहरुको निःशुल्क अप्रेशन भएको आँखा उपचार केन्द्र सल्लेका इन्चार्ज धनबहादुर केसीले जानकारी दिनुभयो । यसअघि विभिन्न ठाउँमा संचालन गरिएको कान स्वास्थ्य सेवा शिविरबाट पहिचान भएका व्यक्तिहरुका लागि अप्रेशन शिविर संचालन गरिएको केसीले बताउनुभयो । 

उहाँका अनुसार जेठ ८ गते चौरजहारीको सहिद स्मृति नगर अस्पताल, ९ गते सेवा केन्द्र तथा जेठ ११ र १२ गते आँखा उपचार केन्द्र सल्लेमा संचालन भएको कान स्वास्थ्य सेवा शिविर संचालन गरिएको थियो । उक्त शिविरबाट कानको अप्रेशन गर्नुपर्ने १ सय ४१ जना व्यक्ति पत्ता लागेका थिए । 

जसमध्य ५३ जनाले जिल्लामै कानको अप्रेशन गराएका छन् भने कान सुख्खा नभएका बाँकी ८९ जनालाई नेपालगञ्ज रेफर गरिएको आँखा उपचार केन्द्रका इन्चार्ज केसीले बताउनुभयो । अप्रेशनका लागि कान सुख्खा हुनुपर्नेमा नभएकालाई रेफर गरिएको हो । त्यस्तै अप्रेशन बाहेक परामर्श सेवाका साथै औषधी वितरण गरिएको उहाँले बताउनुभयो । 

शिविरमा सिनियर कन्सल्टेन्ट हेड एण्ड नेक सर्जन डा. रवि स्वार र डा. शिव रेग्मी सहित १७ जनाको स्वास्थ्यकर्मीको टोली खटिएको थियो । जिल्लामा आँखा अप्रेशन शिविर बारम्बार आयोजना हुने गरेपनि कानको अप्रेशन भने वर्षौं पछि आयोजना गरिएको हो ।

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update