Kakhara सबैको खबर सम्पूर्ण खबर
५२ किलोमिटर गुरिल्ला ट्रेल रेस: रुकुम पश्चिमका भुवन र सोलुखुम्बुकी अनितालाई उपाधि
पुरुष तर्फ विजेता रुकुम पश्चिमको सानीभेरी ३ का भुवन ओली बायाँ र उप विजेता सानीभेरी ३ का अर्जुन बस्नेत दायाँ ।

रुकुम पूर्वको भूमे गाउँपालिकाले आयोजना गरेको ५२ किलोमिटरको गुरिल्ला अल्ट्रा ट्रेल रेसमा पुरुष तर्फको उपाधि रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ३ का भुवन ओलीले जित्नुभएको छ । महिला तर्फ भने सोलुखुम्बुकी अनिता राई विजेता बन्नुभएको छ । निर्धारित ५२ किलोमिटर दुरी ६ घण्टा ८ मिनेट ९ सेकेण्डमा पार गर्दै ओली पुरुष तर्फ प्रथम हुनुभएको हो । 

झिनो अन्तरले पछि परेका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ३ कै अर्जुनकुमार बस्नेत दोस्रो हुनुभयो । उहाँले निर्धारित दुरी ६ घण्टा ८ मिनेट १९ सेकेण्डमा पार गर्नुभयो । ओली र बस्नेतका विचमा जम्मा १० सेकेण्डको फरक परेको ट्रेल रेस संचालनका लागि सहयोग गरेको युवा विकास केन्द्र भूमेका कोषाध्यक्ष बेदना बुढामगरले जानकारी दिनुभयो । 

पुरुष तर्फ भूमे ३ का शक्तिराम रोका निर्धारित दुरी ६ घण्टा १५ मिनेटमा पार गर्दै तेस्रो हुँदा ६ घण्टा २३ मिनेट १ सेकेण्डमा दौड पुरा गर्दै थवाङ १ रोल्पाका मनकुमार रोकामगर चौंथो बनेको बुढाले बताउनुभयो । 

त्यस्तै रुकुम पश्चिमको मुसिकोट ७ का दुर्गाराज बुढा पाँचौं, सानीभेरी ३ का लक्ष्मण केसी छैटौं, भूमे २ का हिमाल बुढा सातौं, भूमे १ का माइकल घर्ती आठौं, पुथाउत्तरगंगा गाउँपालिका १० का दशरथ बुढा नवौं र भूमे गाउँपालिका ६ का राजिधन बुढा दशौं हुनुभयो । पुरुष तर्फ २५ धावकले प्रतिस्पर्धा गरेका थिए ।  

महिला तर्फ निर्धारित ५२ किलोमिटर दुरी ८ घण्टा १५ मिनेटमा पार गर्दै सोलुखुम्बुकी अनिता राई प्रथम हुनुभयो । ९ घण्टा १० मिनेट ३ सेकेण्डमा दुरी पार गर्दै भूमे गाउँपालिका वडा नम्बर ८ की सोनिका खड्का द्धितिय र १० घण्टा १५ मिनेट २ सकेण्डमा दुरी पार गर्दै भूमे ६ की अनिता बुढामगर तृतिय हुनुभएको छ । महिला तर्फ ९ धावकले प्रतिस्पर्धा गरेका थिए । 

महिला र पुरुष तर्फको पुरस्कार समान रहेको छ । महिला र पुरुष तर्फको विजेताले ५० हजार, उपविजेताले ३० हजार, तेस्रोले १५ हजार र चौंथो स्थान हासिल गर्नेले ८ हजार नगद पुरस्कार पाएका छन् । पाँचौं देखि दशौं स्थानसम्म हाँसिल गर्ने धावकले समान ५ हजार नगद पुरस्कार पाएका छन् ।

भूमे गाउँपालिका वडा नम्बर ६ को महतबाट सुरु भएको दौड ऐतिहासिक गाउँ रोल्पाको थवाङ, जलजला, मारिङ लगायतका ठाउँ हुँदै वडा नम्बर २ को खाबाङ बगर पुगेर सम्पन्न भएको थियो ।

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update