ओलम्पिक दिवसको अवसरमा रुकुम पश्चिममा आयोजित ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला ब्याडमिन्टन संघ रुकुम पश्चिमको आयोजनामा असार १ गतेदेखि सुरु भएको प्रतियोगिता आज बिहान सम्पन्न भएको हो । भेट्रान (४५ वर्ष माथि) र नन भेट्रान (४५ वर्ष मुनि) गरी दुई वटा इभेन्टमा प्रतियोगिता भएको थियो ।
जसमध्ये भेट्रान तर्फ सुनिल शाह र बलबहादुर बुढाथोकीको जोडी पहिलो भएको छ । खलंगाको बराटाकुरामा रहेको कबर्ड हलमा आज बिहान भएको फाइनलमा भागिराम भण्डारी र हिरालाल भण्डारीको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै सुनिल र बलबहादुरको जोडी पहिलो भएको हो ।
ताराप्रकाश पुन र धनबहादुर नेपाली तथा तेजबहादुर खत्री र प्रबिर डाँगीको जोडी शान्त्वना भएको आयोजक जिल्ला ब्याडमिन्टन संघले जनाएको छ । भेट्रान तर्फ ८ जोडीले प्रतिस्पर्धा गरेका थिए ।
त्यस्तै ५८ जोडीले प्रतिस्पर्धा गरेको नन भेट्रान तर्फ डम्बर थापा र इश्वर रावलको जोडी पहिलो भएको छ । आजै बिहान भएको फाइनलमा भावेस बोहरा र सिद्धार्थ केसीको जोडिलाई ३–२ को सेटमा पराजित गर्दै डम्बर र इश्वरको जोडी पहिलो भएको जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष अनिल बुढाले जानकारी दिनुभयो ।
प्रतियोगितामा महेन्द्र केसी र विशाल बिष्ट तथा नवराज मल्ल र अनमोल शाहको जोडी शान्त्वना भएको उहाँको भनाई छ । दुवै इभेन्टमा विजेता, उप विजेता र शान्त्वना जोडीलाई मेडल र प्रमाण पत्र दिइएको बुढाले बताउनुभयो । त्यस्तै प्रतियोगितामा सहभागी अन्य सबै खेलाडीलाई पनि प्रमाण पत्र दिइएको उहाँले बताउनुभयो ।
जिल्लामा पहिलो पटक ओलम्पिक दिवस मनाइएको हो । ब्याडमिन्टन प्रतियोगिता आयोजना गरी जिल्लामा पहिलो पटक ओलम्पिक दिवस मनाइएको बुढाले बताउनुभयो । हरेक वर्ष अंग्रेजी महिनाको जुन ३ देखि २३ सम्म विभिन्न कार्यक्रम गरी ओलम्पिक दिवस मनाउने गरिएको छ ।